सामूहिक आत्महत्याको प्रयास गर्दा आमाको मृत्यु, तीन बालबालिकाको अवस्था चिन्ताजनक

सामूहिक आत्महत्याको प्रयास गर्दा आमाको मृत्यु, तीन बालबालिकाको अवस्था चिन्ताजनक

२४ असार । बालबालिकासहित सामूहिक आत्महत्याको प्रयास गर्दा आमाको मृत्यु भएको छ भने तीन बालबालिकाको अवस्था चिन्ताजनक रहेको छ ।
कञ्चनपुरको दैजी–३ धर्मपुरकी २८ वर्षीया मीना बोगटीको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

बालबालिकासहित उनले दूधमा विषादी मिसाई सेवन गरेकी थिइन् । छिमेकीको सहयोगमा उनलाई तत्काल महाकाली अञ्चल अस्पतालमा पु¥याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कर्णबहादुर बमले बताउनुभयो ।

विषादी सेवन गराइएका मृतककी छोरा नरेन्द्र, छोरी जेनु र करुणाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि भारतको खटिमातर्फ लगिएको छ ।

तीनै बालबालिकाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । बालबालिकाको उमेर तीन वर्षदेखि पाँच वर्षसम्म रहेको छ । मृतक महिलाका श्रीमान् भारतमा मजदुरी गर्न गएको र उनी तीन छोराछोरीसँगै बस्दै आएकी थिइन् ।

मीनाले बालबालिकासहित आफूले विषादी सेवन गर्नुको कारण खुल्न सकेको छैन । प्रहरीले सामूहिक आत्महत्याको प्रयास गर्नुको कारणबारे अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ ।

विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् । नेपाल आत्महत्या गर्ने मुलुकको आठौं नम्बरमा छ । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार हरेक वर्ष ८ लाखले आत्महत्या गर्छन् । भारतमा मात्रै एकै वर्ष २ लाख ५८ हजार ५७ जनाले आत्महत्या गरे । नेपालमा एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा महिलाहरु भन्दा पुरुष बढी छन् । नेपालमा पनि आत्महत्या गर्नेमा महिला भन्दा पुरुषहरु नै बढी छन् ।

तपाइँको प्रतिक्रिया ।