गैरपत्रकार सदस्यको नवीकरण नगरिने

२० असार । गैरपत्रकार सदस्यको नवीकरण नगर्ने तथा नयाँ सदस्यताका लागि गैरपत्रकार सिफारिस गर्ने सम्पादक, प्रकाशक तथा सदस्यता लिने व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल पत्रकार महासङ्घ भक्तपुरको दुईदिने भेला शनिबार सम्पन्न भएको छ । जिविस भक्तपुरको आर्थिक सहयोगमा शुक्रबारदेखि सुरु भएको भेलाले १० बुँदे घोषणापत्र जारी गर्दै संविधानको मस्यौदामा पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति नभएकाले त्यसलाई सच्याउनुपर्ने, सञ्चारकर्मीलाई समाचार सम्प्रेषण सुविधाका लागि महासङ्घ जिल्ला शाखालाई सूचना केन्द्रका रुपमा विकास गर्ने, समृद्ध भक्तपुर निर्माणका लागि खोज पत्रकारिता र मिसन पत्रकारिता सुरु गर्ने जनाएको छ ।

महासङ्घ भक्तपुर अध्यक्ष अमर भुजुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने सम्बन्धमा श्रमजीवीको तलब सुनिश्चित गर्न सञ्चारमाध्यमका परिचयपत्रलाई पनि नियुक्तिपत्रसरह मान्यता दिनुपर्ने माग केन्द्रमार्फत अगाडि बढाउन अभियान चलाइने बताउनुभयो । घोषणापत्र वाचन गर्दै महासङ्घ भक्तपुरका उपाध्यक्ष सोम शर्मा बजगाईंले भक्तपुरका गैरपत्रकारको पहिचान गरी शुद्धीकरण अभियान सुरु गरिने बताउनुभयो ।

 

महासङ्घका उपत्यका इन्चार्ज ईश्वरी वाग्लेले राजनीतिक आस्थाका आधारमा महासङ्घको नेतृत्व कब्जा गर्ने रणनीतिका कारण महासङ्घमा गैरपत्रकार हाबी भएकाले सदस्यता छानबिनमा इमान्दारीका देखाए शुद्धीकरण सम्भव हुने बताउनुभयो । भेलाको उद्घाटन कार्यक्रममा स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले विकास पत्रकारितामा पनि पत्रकारले बढी चासो र ध्यान दिन सके पारदर्शिता र सुशासन अभिवृद्धि हुने बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।