तेक्वान्दो प्रशिक्षक शर्मा अमेरिकामा उत्कृष्ट निर्णायक, नेपाली किशोर मेन्चेस्टरमा

तेक्वान्दो प्रशिक्षक शर्मा अमेरिकामा उत्कृष्ट निर्णायक, नेपाली किशोर मेन्चेस्टरमा

काठमाडौँ, १७ असार । अन्तर्राष्ट्रिय चाङ होन तेक्वान्दो महासङ्घ नेपालका प्राविधिक निर्देशक एवम् नेपालको चर्चित साङ्रोक नेपाल तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा निर्देशक दिनेश शर्मा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक हुनु भएको छ । शर्माले फोन सम्पर्कमार्फत उत्कृष्ट भएको रासससँगको कुराकानीमा जानकारी दिनुभयो । अमेरिकाको न्युयोर्कमा आयोजित १३औँ ‘द ब्याटल अफ द च्याम्पियन्स अफ दी अमेरिकाज्’ नामक कार्यक्रममा उहाँ उत्कृष्ट निर्णायक चुनिएसँगै उहाँको अमेरिकामा निकै चर्चा हुन थालेको छ ।

123

उक्त कार्यक्रममा मेक्सिको, क्यानाडा, भारत, पेरु, पुएर्टोरिकोे, इक्वेडोर र डोमिनिकन रिपब्लिक गरी सात देशका २०० भन्दा बढी खेलाडी सहभागी थिए, जसमा अमेरिका, क्यानाडा, पेरु र नेपाल गरी जम्मा २० जनामात्र रेफ्री छनोटमा परेका हुन् । नेपालबाट एकजना मात्र छनोटमा पर्न सफल शर्माले सबै देशलाई उछिन्दै उत्कृष्ट निर्णायक बन्न सफल हुनुभयो । गत जेठ ९ गते अमेरिका पुगेका दिनेश शर्माले पेनाज तेक्वान्दो एकेडेमीका खेलाडीहरुलाई दुईहप्ते विशेष तेक्वान्दो तालिमसमेत दिनुभयो । उहाँको एकेडेमी प्रतियोगितामा प्रथम भएको भयो । परम्परागत र आधुनिक तेक्वान्दोमा विशेष दक्खल राख्ने प्रशिक्षक शर्माले अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासङ्घ (आइटिटिएफ) को अन्तर्राष्ट्रिय ‘क’ बर्गको निर्णायक र प्रशिक्षकको लाइसेन्स प्राप्त गरिसक्नुभएको छ ।

इटालीबाट सन् २०११ मा ‘अल स्टाइल कम्ब्याट’मा अन्तर्राष्ट्रिय प्रशिक्षक कोर्स गरेका प्रशिक्षक शर्माले विश्व तेक्वान्दो महासङ्घ र कुकिवानबाट सम्बन्धन प्राप्त साङ्रोक विश्व तेक्वान्दो एकेडेमी दक्षिण कोरियाबाट सन् २०१२ मा ‘तेक्वान्दो कोचिङ क्याम्प’मा सहभागी भई आफ्नो कुशल प्रतिभा देखाइसक्नुभएको छ ।

नेपाली किशोरलाई मेन्चेस्टर युनाइटेडमा अवसर

यसैबीच, नेपालका एकजना किशोरलाई युरोपको विश्वविख्यात फुटबल क्लब मेन्चेस्टर युनाइटेडमा फुटबल प्रशिक्षणको दुर्लभ अवसर प्राप्त भएको छ । भर्खरै १३ वर्षमा उक्लिएका झापाका डेनियल डेभिड कटुवाललाई त्यस्तो अवसर प्राप्त भएको हो । यसअघि नेपालीले त्यस्तो अवसर पाएका थिएनन् । आठ दिनको छोटो तर कडा प्रशिक्षण (मेन्चेस्टर समर क्याम्प) लिन उनी बुधबार लन्डन प्रस्थान गरेका छन् । क्याम्पमा प्रवेश पाएपछि डेनियलले आठै दिन त्यहाँ कडा प्रशिक्षण लिनुपर्नेछ । उनी चर्चित हेयर स्टाइलिस्ट निल डेभिड कटुवालका पुत्रसमेत हुन् । झापा घैलाडुब्बा–९ लक्ष्मीपुरका डेनियलले गत वर्ष २०१४ मा थाइल्यान्ड पुगेर फुटबलको प्रशिक्षण लिएका थिए । डेनियलले थाइल्यान्डको बैंककमा प्रिमियर एकेडेमीमा दुई महिना लामो फुटबल प्रशिक्षण लिएका थिए । उनलाई स्कटल्यान्डका कोच केभिनले प्रशिक्षण दिएका थिए । उनी बैंककमै भएको क्रिसमस ट्रफी प्रतियोगितामा समेत सहभागी भएका थिए । प्रतियोगितामा डेनियलले उत्कृष्ट खेल प्रदर्शन गरेर प्रशिक्षक केभिनको मन जितेकाले केभिनले उनको खेलको प्रशंसा गरेका थिए । डेनियल हाल भने फुटबलर राजु शाक्यबाट नेसनल फुटबल एकेडेमी बानेश्वरमा प्रशिक्षण लिइरहेका थिए । अनिल मल्ल ठकुरी/रासस –

तपाइँको प्रतिक्रिया ।