बालमनोविज्ञानमा आधारित भएर बालसाहित्य लेख्नुपर्ने

काठमाडौँ, १६ असार । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (लोक वार्ता र बाल साहित्य) विभागद्वारा आज यहाँ ‘बाल साहित्यः सिर्जन र पठन सँस्कृतिको विकास’ विषयमा एक विचार गोष्ठीको आयोजना ग¥यो ।

गोष्ठीमा सहभागी वक्ताहरुले बालसाहित्य सिर्जनामा बाल मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गरे ।

बाल साहित्यकार शान्तदास मानन्धरले अहिलेको बालसाहित्यलाई तयारी पोशाकसँग तुलना गर्दै राम्रो देखिएपनि बालबालिकासँग मेल नखाने बताउनुभयो । उहाँले भन्नुभयो, “बालसाहित्य बालबालिकाका लागि पकाएर राखिदिएको खाना जस्तै भएको छ, मन परे पनि मन नपरे पनि खानै पर्ने । हामीले बालसाहित्य लेखन गर्दा कहिल्यै पनि बालबालिकाको रुचि, चाहना के छ भन्नेतिर लाग्दैनौँ ।”

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बालसाहित्यको प्रबद्र्धनमा लाग्नुभएको सम्पूर्ण साहित्यकारलाई धन्यवाद दिँदै प्रतिष्ठानले गर्नुपर्ने कामबारे झक्झकाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा डा रमेश भट्टराई र प्रा डा महादेव अवस्थीले कार्यपत्र प्रस्तुत गर्दै विश्वका विभिन्न मुलुकमा भएका अभ्यासबारे जानकारी दिनुभयो ।

प्रतिष्ठानका बाल साहित्य विभागका प्रमुख नर्मदेश्वरी सत्याल, प्रा डा शुष्मा आचार्य, प्रतिष्ठानका पूर्व प्राज्ञ बैरागी काइँला, बाल साहित्यकार रञ्जुश्री पराजुली, प्रमोद प्रधानलगायतले बालबालिकालाई सुरुमा आमाबुबा र शिक्षकले नै साहित्यको जानकारी दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।