खेलाडी लुकाएको आरोपमा सत्यता नभएको सदस्य सचिव विष्ट दाबी

काठमाडौँ, १४ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव केशव विष्टले आफूमाथि दक्षिण कोरियामा खेलाडी लुकाएको भनी लगाइएको आरोपमा कुनै सत्यता नभएको दाबी गर्नुभएको छ ।

आज रासससँग कुरा गर्दै उहाँले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि गएका खेलाडी लुक्ने विषयमा कसैले ग्यारेन्टी लिन नसक्ने र आफूले कुनै पनि खेलका खेलाडीलाई नलुकाएको दाबी गर्नुभयो ।

सदस्य सचिव विष्टले भन्नुभयो – “हाम्रो जस्तो गरिब राष्ट्रमा खेलाडीले खेलेरमात्रै भविष्य सुनिश्चित नहुने भएकाले यदाकदा खेलाडी लुक्ने घटना हुन्छ । त्यो हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । त्यसलाई कसैले ग्यारेन्टी लिन सक्दैन ।”

उहाँले अगाडि थप्नुभयो – “खेलाडी कोरियामा नै लुक्छन् भन्ने कल्पनासमेत गरेको थिइनँ । यदि लुकिहाले भने पनि बेलायत, अमेरिकाजस्ता राष्ट्रमा लुक्लान् भन्ने थियो तर कोरियामा लुकिदिए । त्यो मेरा लागि दुर्भाग्य हो, यसको नैतिक जिम्मेवारी पनि लिइसकेको छु ।”

यो घटनापछि आफूले राजीनामासमेत दिन तयार भएको उहाँको भनाइ थियो । सङ्घले यस किसिमको घटना भई नै रहन्छ त्यसमा तपाईंको केही गल्ती छैन भनेर सफाइसमेत दिएको उहाँ बताउनुहुन्छ ।

सदस्य सचिव विष्टले खेलाडी लुकाएको भन्ने आफूमाथिको आरोपमा कुनै पनि कारबाही नभएको स्पष्ट पार्दै यदि कोही कसैले आफू कारबाहीमा परेको प्रमाण पेस गरे पदबाट राजीनामा दिने घोषणासमेत गर्नुभयो ।

यही असार १० गते युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले विष्टलाई सदस्य सचिवमा नियुक्त गर्नुभएको थियो ।

मन्त्री पौडेलले खेलाडी लुकाएको आरोप लागेका व्यक्तिलाई सदस्य सचिवमा नियुक्त गरेपछि नेकपा (एमाले) पार्टी पङ्क्ति रुष्ट रहेको र राजीनामा गर्न मन्त्रीलाई दबाब दिएको बताइन्छ । गत वर्ष दक्षिण कोरियामा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा खेलाडी लुकाएको भन्ने आरोप सदस्य सचिव विष्टमाथि लागेको थियो । त्यतिबेला उहाँ राखेपबाट टोली व्यवस्थापकको रुपमा कोरिया जानुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।