पहिरोको जोखिमबीच देवीस्थानवासीको अस्थायी बसोबास

प्रकाश सिलवाल
काभ्रेस्थली (काठमाडौँ), १३ असार । विनाशकारी भूकम्पबाट यहाँका अधिकांश घरमा मात्र क्षति पुगेन, घरमाथिको डाँडो र जमिनमा पनि धाँजा फाटिएको छ । हुन त, उनीहरुको अर्काे जाने ठाउँ छैन । बस्ती बस्नयोग्य भए, नभएका बारेमा हालम्म कुनै सरकारी निकाय या विज्ञले अध्ययन पनि गरिसकेका छैनन् तर यस क्षेत्रमा पुग्ने जो कोही नयाँ मानिस देवीस्थानको डाँडोको खतरापूर्ण अवस्था र त्यसमुनि रहेका बस्ती देखेर आत्तिन्छन् ।

त्यसो त, उनीहरुलाई आफ्नो थातथलो छाड्ने चाहना पनि छैन । भूकम्पले पुराना घर भत्काएपछि त्यही जोखिमपूर्ण ठाउँमा बस्नका पनि उनीहरुलाई तत्काल पाल वा टहराको विकल्प थिएन । सरकारले दिने राहत रकम रु १५ हजार र केही सामग्रीबाहेक अन्य सहयोग नपाइरहेका उनीहरुलाई अस्थायी टहरा बनाउन जस्तापाता, बाँसलगायतका सामग्री र निर्माणको प्राविधिक सहयोग आवश्यक थियो । ग्लोबल एक्सन नेपाल र अन्य संस्थाको सहजीकरणमा यहाँका ४५ घर र एक सामुदायिक भवनका लागि पुग्ने जस्ता र बाँस सहयोग भएपछि समुदायले मिलेर टहरा बनाए ।

घरमाथिबाट पहिरो आउन सक्ने खतरा मोलेर उनीहरुले अस्थायी टहराको बसोबास प्रबन्ध भएकामा पनि उनीहरु खुसी छन् । ग्लोबल एक्सन नेपालका निर्देशक बाबुकाजी श्रेष्ठका अनुसार पहार ट्रष्ट नेपाल, अजी एक्सन अब्रोडलगायत संस्था तथा अमेरिका र बेलायतमा रहेका नेपालीको सहयोगमा करिब रु आठ लाख सङ्कलन गरी जस्ता, बाँस सामग्री उपलब्ध गराइएको हो । टहरा निर्माणपछि स्थानीय देवीस्थान युवा क्लबले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “विपत्मा हुनेले नहुनेलाई सहयोग गर्नुपर्छ, नेपालीको यो सहयोगी संस्कृतिले एकापसमा मिलेर बस्न पनि सिकाएको छ, यसका लागि विदेशमा रहेका नेपाली पनि सहयोग गर्न तयार छन् ।”

तारकेश्वर नगरपालिका वडा नं ६ स्थितको तामाङबस्ती रहेको देवीस्थानमा कृषि र मजदुरीमा मुख्य पेसा देखिन्छ । यहाँ हरेक घरमा रक्सी उत्पादन र बिक्री पनि नियमित पेसा भएको छ । अन्य आयको स्रोत नभएपछि बालबालिकाको कापी कलम खर्च जुटाउन पनि रक्सी उत्पादन गर्नुपरेको स्थानीय ८० वर्षीय काइती तामाङको भनाइ छ । “घर लडेको छ, टहरा बनाउन संस्थाबाट सहयोग भएर बस्न पाइएको छ, फेरि पनि भूकम्प र पहिरोको डर त छँदैछ”, तामाङले भन्नुभयो ।

स्थानीय महिला गृहलक्ष्मी कृषि समूहका संयोजक सुमित्रा तामाङ संस्थाको सहयोगपछि हरेक व्यक्तिको टहरा बनाउन सबै मिलेर (करिब ५००) को स्वयम्सेवी श्रमदान रहेकाले भोलि आउने सक्ने विपत्लाई व्यवस्थापन पनि मिलेर गर्ने आशा प्रकट गर्नुहुन्छ ।

वडा नागरिक मञ्चका संयोजक राधेश्याम फुयाँल देवीस्थान डाँडो (जहाँ मानिस जलाउने काम पनि गरिन्छ) पहिरोको जोखिमबारे सरकारी निकायमा जानकारी गराइने र सुरक्षाका उपाय अवलम्बन गर्ने बताउनुहुन्छ । वडा सचिव पदमा गजुरेल हालसम्म बस्ती स्थानान्तरण गर्नुपर्ने वा नपर्ने विषयमा अध्ययन नभएको तर जिल्ला दैवी प्रकोप उद्धार समितिबाट यस विषयमा चाँडै अध्ययन हुने अपेक्षा व्यक्त गर्नुहुन्छ ।

जिल्ला विकास समिति काठमाडौँमा सामाजिक विकास अधिकृत दीपककुमार केसीले काठमाडौँका तारेभिर, नाङ्गलेभारे, चाल्नाखेल, काभ्रेस्थलीका केही ग्रामीण भेगमा पहिरोको जोखिम भएको भन्नेबारेमा विस्तृत अध्ययन भइरहेको र त्यसका आधारमा सुरक्षित बसोबासका लागि आवश्यक कार्य गर्ने बताउनुभयो ।

तस्वीरहरु केहीबेरमा  अपलोड हुनेछ ।

तपाइँको प्रतिक्रिया ।