फलफूलको राजा आँप महोत्सव भृकुटीमण्डपमा

फलफूलको राजा आँप महोत्सव भृकुटीमण्डपमा

काठमाडौँ, ११ असार । पहिलो राष्ट्रिय आँप मेला आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ ।

दुई दिनसम्म आयोजना हुने उक्त मेलाको उद्घाटन कृषि मन्त्री हरिप्रसाद पराजुलीले गर्नुभएको थियो । मेलामा ११ वटा कक्ष राखिएका छन् । मन्त्री पराजुलीले मङ्सिर र पुस महिनामा आँप बगैँचाको उपचार गर्न कृषि विज्ञहरुलाई निर्देशन दिनुभएको थियो ।

Mango-First-in-Nepal-1

स्वदेशी बजारमा आँपको महत्व, नेपाली आँपको स्वाद, नयाँ र पुराना आँपका जातको पहिचान, बजारीकरण र उपभोक्तालाई जागरुक बनाउने उद्देश्यले आँप महोत्सवको आयोजना गरिएको नेपाल फलफूल थोक व्यवसायी सङ्घका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

फलफूलको राजा भनेर चिनिँदै आएको आँपको व्यावसायिक खेती तराईका विभिन्न जिल्लामा गरिन्छ । विशेष गरी नेपालमा माल्दा, दसरी, कृष्ण भोग, आम्रपालीलगायत ४६ थरीको आँपखेती गरिँदै आएको छ । महोत्सवमा ३४ जातका आँप बिक्रीका लागि राखिएका छन् । आँपमा भिटामिन ‘ए’ र ‘टु’ तथा विभिन्न प्रकारका पोषक तत्व पाइन्छ ।

भोलिसम्म आयोजना हुने उक्त मेलामा विभिन्न जातका आँप प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा बिक्री गरिएको छ । नेपालमा ७५ प्रतिशत आँप भारत र चीनबाट आयात गरिन्छ । आँपमा निर्भर हुनका लागि सामुदायिक वन र बाँझो जमिनको उपयोग गर्नु आवश्यक रहेको सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले बताउनुभयो ।

सरकारले पाँच वर्षमा नेपाल फलफूलमा आत्मनिर्भर भइसक्ने बताउँदै आएको भए पनि उत्पादकले भन्दा नाफाखोर र बिचौलियाका कारण उत्पादकत्व बढाउन नसकिएको कृषि सचिव उत्तमकुमार भट्टराईले जानकारी दिनुभयो । नेपाली समुदायमा बिरामी पर्दा मात्र फलफूल खाने प्रचलन छ । यहाँ आँपको परम्परागत खेती गरिन्छ । आँप बगैँचामा बारुलो र अरिङ्गाल अभिशाप मानिन्छ । रासस

तपाइँको प्रतिक्रिया ।