आम्मै, चोर पनि के साह्रो अचम्मका

चोर पनि चानचुनका रहेनन् अब, समाउनलाई प्रहरी नै डराउनुपर्ने । प्रहरी भन्दै थिए, ‘फलानो ठाउँमा चोर बस्छ, तर समाउने कसरी ?’ काठमाडौंको अपराध महाशाखामा एसएसपी सर्वेन्द्र खनालले हाजिर भएको भोलिपल्ट मध्यरात एउटा टोलीलाई चितवन, अर्को टोलीलाई हेटौँडा कुदाएपछि बल्ल खुल्यो, आजकलका चोरहरुको डरलाग्दो ‘नेक्सस’ ।
समातिएका चोरको संख्या जम्मा तीन हो । तर, कुरा सुन्दा बेहोस हुनेखालको छ । नाइके हुन्, रामेछाप, दोरम्बाका सागर नामले चिनिने टीका थापा मगर । रामेछापकै लेदेवीका मिलन, कान्छा र प्रकाश नामले चिनिने तेजबहादुर तामाङ र चितवनका प्रेम महतो चौधरीलाई साथमा लिएर सागरले चोरी र लुटपाटको धन्दा चलाएका छन् । काठमाडौंबाट चोरीका मोटरसाइकल पुग्थे, चितवन र हेटौँडातिर । वा, पुग्थे काभ्रे, सिन्धुपाल्चोक हुँदै खासातिर । यहाँबाट लैजानेले ठाउँमा पु¥याएपछि त्यहाँ सामान जिम्मा लिने र त्यसबापतको पैसा लिने मान्छे स्ट्याण्डबाई हुन्थ्यो । पैसा खल्तीमा हैन, आइएमईबाट पठाउने गर्थे । रिसिभ हुन्थ्यो, काठमाडौंको नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेजनजिक ग्लोबल आइएमई बैंकको शाखामा । ‘एक पन्थ, दो काज’ भनेजस्तो चोरीका गाडीको पैसा रिसिभ गर्न जाँदाजाँदै बैंकमा सधैँ देखिने महिलामाथि नजर लाग्यो, सागरको । उनी थिइन्, कलंकीकी सरस्वती आचार्य । व्यापार गर्थिन् । सधैँ बैंकबाट आठ–दश लाखको कारोबार । सागरले एक महिनादेखि उनको कारोबारबारे बुझे । आउने–जाने बाटो बुझे । स्कुटी नम्बर र त्यसको रंग बुझे । स्कुटी पार्किङ गर्ने ठाउँ पनि बुझे ।
सबै कुरा बुझेपछि माघ १० गते ‘काम गर्ने’ योजनामा पुगे । सरस्वती पार्किङबाट स्कुटी निकालेर चढ्न लागेकी थिइन् । सागर र तेजबहादुर मोटरसाइकल ठीक पारेर बसेका थिए, मुखमा मास्क लगाएर । सागरले मोटरसाइकल चलाएका थिए । पछाडि बसेका तेजबहादुरले स्कुटी चढिसकेकी सरस्वतीको ब्याग ताने । सरस्वती कराउँदै थिइन्, सागरहरु भागिहाले । यिनैले हो, पोहोर तिहारको बेला आफन्तले पठाएको पैसा झिक्न हिँडेकी कपनकी प्रेरणा राईलाई लुटेको । कपनको शनि इन्टरप्राइजेजबाट एक लाख ५५ हजार रुपैयाँ झिकेर घरतिर जाँदै गरेकी प्रेरणाको पनि झोला त्यसरी नै खोसियो, जसरी सरस्वतीको खोसिएको थियो । जोरपाटीकी सुमित्रा अधिकारीले ७० हजार बोकेको सुराक पाएर लुट्न हिँडेको यो टोलीले ६९ हजार दुई सय ५० रुपैयाँ लुटयो, पहिलाकै तरिकाले । मोटरसाइकल, अर्थात् सानो सामान स्वाट्ट चो¥यो, भाग्यो ।
यो पुरानो चलन हो । तर, यो गिरोहले मोटरसाइकलमा चित्त बुझाएन । जेठको ३२ गते बौद्धस्थित भाटभटेनी सुपरस्टोरको कम्पाउण्डबाट हराएको बोलेरो गाडी कहाँ पुग्यो भनी प्रहरीले खोज्दै जाँदा यिनै बद्मासबाट फेला परेको छ । विष्णुबहादुर गुरुङको स्वामित्वमा रहेको बा६च ७६९८ नम्बरको रेड वाइन रंगको बोलेरो बौद्धबाट मकवानपुरको पदमपोखरी पु¥याएर राखेको अवस्थामा प्रहरीले फेला पा¥यो ।

जनआस्था सप्ताहिक बाट

तपाइँको प्रतिक्रिया ।