अनलाइन बन्द गरिएकोमा, नेपाल पत्रकार महासंघको आपत्ति

अनलाइन बन्द गरिएकोमा,  नेपाल पत्रकार महासंघको आपत्ति

काठमाडौं, जेठ ११ – नेपाल पत्रकार महासंघले समाचार लेखेको विषयलाई लिएर केही अनलाइन बन्द गरिएको भन्दै त्यसप्रपति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

download

विपदका बेला प्रकाशन र प्रसारण हुने समाचारमा ध्यान दिनु स्वभाविक भएपनि अन्तरिम संविधान विपरित समाचारको विषयलाई लिएर संविधान तथा प्रचलित कानुन विपरित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरी गैरअख्तियार प्राप्त सरकारी निकायले शान्ति सुव्यवस्था कायम राख्ने बहानामा सम्पूर्ण आमसञ्चार माध्यमको निगरानी राख्नुको साथै कानुनले तोकेको प्रक्रियाबाहिर गई केही अनलाइन समाचार माध्यमहरू बन्द  गराइएको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ज्योतिष तथा अरु नै विदेशी सञ्चार माध्यमलाई उद्धृत गर्दै ठूलो भूकम्प आउँदै छ भनेर अफवाह फैलाउने तथा सर्वसाधारणलाई आतंकित पार्ने खालका समाचार राखेको काम भन्दै प्रहरीले केहि अनलाइन सञ्चालकलाई पक्रनुका साथै केहि अनलाइन बन्दसमेत गरिदिएको थियो । त्यसरी अनलाइन बन्द गरिदिएको र अनलाइनका पत्रकारालाई पक्रेको विरोधमा महासंघले विज्ञप्ति निकालेर आपत्ति जनाएको हो । महासंघका सचिव प्रभात चलाउनेले निकालेको विज्ञप्तिमा संवैधानिक तथा मौलिक अधिकार विपरित हुने गरी कुनै पनि कार्यहरू नगर्न नगराउनु हुन सम्बन्धित सबै निकायहरूलाई पुनः ध्यानाकर्षण गराउँदछौं भनिएको छ ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५ (२) ले कुनै श्रव्य, श्रव्य दृष्य वा विद्युतीय उपकरणको माध्यमबाट कुनै सामग्रीको प्रकाशन तथा प्रसारण गरे वा छापे वापत त्यस्तो सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा छाप्ने, रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय, छापा वा अन्य सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज गरिने छैन भन्ने प्रत्याभुत गरिएको र धारा १५(४) ले कानूनबमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोन लगायतका सञ्चार साधनलाई अवरूद्ध गर्न सकिने छैन भन्ने उल्लेख रहेको भन्दे महासंघले संवैधानिक तथा मौलिक अधिकार विपरित हुने काम नगर्न ध्यानाकर्षण गराएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।