भारतमा तातोहावाबाट ४३० को मृत्यु

भारतमा तातोहावाबाट ४३० को मृत्यु

भारतका दुई वटा सहरमा तातोहावाको कारण ४३० भन्दा बढी व्यक्तिको मृत्यु भएको समाचार छ ।

hotwave

ती सहरमा तापक्रम ५० डिग्री पुगेको सोमबार प्राप्त एक समाचारमा जनाइएको छ । विगत केही दिनदेखि ती सहरमा यस्तो हावा चलेको थियो । सो तातो हावाको कारण अत्यन्त प्रभावित सहर तेलङ्गाना राज्यमा मारिएका व्यक्तिको तथ्याङ्क अझै सङ्कलन भइरहेको हुनाले अधिकारीहरुले सो सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

मौसमविदहरुले पनि यो अवस्था अझै केही दिन रहनसक्ने भन्दै खतराको चेतावनीसमेत दिएका छन । भारतको राजधानी दिल्लीलगायत हालका दिनहरुमा भारतको ठूलो भागमा तातो हावाले प्रभावित बनाएको छ ।

केही दिनअघिबाट सुरु भएको तातो हावाको अवस्था पछिल्ला केही दिनयता आएर भने दक्षिणी क्षेत्रहरु तेलङ्गना र छिमेकमा पर्ने आन्ध्र प्रदेशमा सर्दै गएको बताइएको छ । पछिल्ला दिनहरुमा तेलङ्गना र आन्ध्रमा तापक्रम अनायास बढ्न थालेको बताइएको छ । यसका कारण सर्वसाधारणमा निकै ठूलो असर पर्ने भन्दै बिजुली आपूर्तिमा कुनै कठिनाइ उत्पन्न नगर्न सरकारलाई आग्रह गरिएको छ ।

आन्ध्र प्रदेशमा त्यहाँका मजदुर एवम् कामदारहरुलाई धेरै लामो समयसम्म दिउसोको घाममा काम नगर्न आग्रह गरिएको छ । सो प्रदेशमा मात्र २४६ जनाको ज्यान गएको छ । ती सबैको उक्त क्षेत्रमा बहेको तातो हावाका कारण नै ज्यान गएको पुष्टि स्वास्थ्य अधिकारीहरुले गरेका छन् ।

कतिपय मारिनेमा मजदुरहरु नै रहेका छन् । उनीहरु लामो समयसम्म दिउसोको कडा घाममा काम गरेकोले प्रभावित भएको पनि समाचारमा जनाइएको छ ।

स्वास्थ्य अधिकारीहरुले दिउँसको घाममा सकेसम्म यात्रा नगर्न, छाता ओढेर हिँड्न, पानी प्रशस्तमात्रामा पिउन र चिसो खाद्य पदार्थहरुको सेवन गर्न सुझाव दिएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।