Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/05/rastra-bank.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

ऋणिहरुलाई खुसीको खबर

जेठ ६, काठमाडौँ । विभिन्न बैंक तथा वित्तीय संस्थाले बुझाउनुपर्ने ऋणको भाका सार्न नेपाल राष्ट्र बैंक तयार देखिएको छ । वैशाख १२ को महाभूकम्प र त्यसपछिका शक्तिशाली कम्पनबाट क्षतिग्रस्त उद्योग, व्यापार, होटल, हाउजिङ लगायतले लिएको ऋणको ब्याज तथा किस्ता निर्धारित मितिभित्र तिर्न नसक्ने ठहर गर्दै मुलुकको केन्द्रीय बैंकले यस्तो सहुलियत दिने तयारी गरेको हो।
rastra-bank
बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग अनौपचारिक छलफलपछि राष्ट्र बैंकले किस्ता तिर्ने समय पछि सार्न सहमति जनाएको स्रोतहरूले जनाएका छन् । किस्ता तिर्ने समय पर सार्ने विषयमा अनौपचारिक कुरा हुँदा केन्द्रीय बैंकका अधिकारी सकारात्मक देखिएको डेभलपमेन्ट बैंकर एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बताए ।
‘भूकम्पका कारण सेवामूलक, उत्पादनमूलक, टे«डिङलगायत क्षेत्रमा क्षति पुगेकाले उनीहरूले लिएको ऋणको ब्याज तथा किस्ता तिर्ने समय सार्ने विषयमा राष्ट्र बैंक सकारात्मक देखिएको छ,’ लामिछानेले सोमबार नागरिकसँग भने । भाका सार्ने औपचारिक निर्णय भने भइसकेको छैन । स्रोतअनुसार चालु आर्थिक वर्षको अन्त्यतिर यस्तो घोषणा हुनेछ । आर्थिक वर्ष सकिन अझै ५५ दिन बाँकी रहेकाले किस्ता तिर्ने समय सार्ने विषयमा निर्णय गर्न हतार नभएको लामिछानेले बताए । ‘असारसम्म किस्ता बुझाउने समय छ, त्यसभित्र बुझाउन नसक्नेलाई समय थपिदिए हुन्छ,’ कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका लामिछानेले भने, ‘बैंक, वित्तीय संस्थाले यो समयभित्र किस्ता नबुझाउने ऋणीको रकम नोक्सानीमा राख्नुपर्ने हुन्छ ।’
भूकम्पबाट क्षति भएकै कारण किस्ता बुझाउन नसक्नेका लागि मात्र यस्तो सुविधा दिने राष्ट्र बैंकको तयारी छ । ‘भूकम्पबाहेक अन्य कारणले किस्ता तिर्न नसक्नेका लागि भने समय सार्न सकिँदैन,’ लामिछानेले भने, ‘त्यसो गरिए गलत नजिर बस्नेछ ।’ राष्ट्र बैंकले ३ वा ६ महिनाका लागि किस्ता तिर्ने समय सार्ने तयारी गरिरहेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।
विशेष परिस्थितिमा राष्ट्र बैंकले विगतमा पनि किस्ता बुझाउने समय सार्दै आएको थियो । ‘अन्य राहतका विषयमा पनि छलफल गरिरहेका छौं,’ राष्ट्र बैंक सहप्रवक्ता राजेन्द्र पण्डितले भने, ‘किस्ता तिर्ने समय सार्ने विषयमा भने औपचारिक निर्णय गरिसकेका छैनौं ।’
व्यवसायीका समेत कुरा सुनेर थप छलफलपछि यस्तो निर्णयमा पुग्ने पण्डितले जनाए । ‘राष्ट्र बैंक मात्रै तातेर भएन, क्षति पुगेका व्यवसायीको माग कति आउँछ, त्यसमा पनि भर पर्छ,’ पण्डितले भने । यही प्रयोजनका लागि राष्ट्र बैंकले भूकम्पले क्षति पुगेका ऋणीको रकमसहितको विवरण मागिसकेको छ भने हालसम्म करिब एक दर्जन संस्थाले यस्तो विवरण बुझाएका छन् ।
भूकम्पका कारण आर्थिक क्रियाकलाप ठप्पप्रायः भएको करिब महिना दिन पुग्न लागेको छ । कतिपय उद्योगधन्दामा भूकम्पले क्षति पुर्‍याएको छ । यस्तो अवस्थामा बैंक, वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गर्नेले तोकिएको समयमा सावाँब्याज तिर्न सक्दैनन् । ठूला सपिङ मल सुनसान छन् । भूकम्पले क्षतिग्रस्त मल तथा सपिङ कम्प्लेक्सले व्यवसाय गर्न सक्ने अवस्था छैन । राष्ट्र बैंकले कर्जाको नियमित ब्याज तथा किस्ता नतिरिएको कर्जालाई सूक्ष्म निगरानीमा राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले पनि व्यवसायीले समयमै किस्ता र ब्याज तिर्नुपर्ने हुन्छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले सेवामूलक, उत्पादनमूलक, टे«डिङलगायत क्षेत्रमा फागुनसम्म १२ खर्ब ५० अर्ब लगानी गरेका छन् । नेपाल घरजग्गा व्यवसायीले भूकम्पले घरजग्गा व्यवसायमा १५ अर्ब रुपैयाँ बराबर क्षति पुर्‍याएको प्रारम्भिक प्रतिवेदन राष्ट्र बैंकमा बुझाइसकेका छन् । यसमा ६० प्रतिशत बैंकबाट ऋण लिएका आयोजना र ४० प्रतिशत मात्रै व्यवसायीको आफ्नो लगानी क्षति भएको उल्लेख छ । गत फागुनसम्म घरजग्गा क्षेत्रमा बैंकहरूले १ अर्ब ७० अर्ब रुपैयाँ लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । रासस

 

तपाइँको प्रतिक्रिया ।