राष्ट्रिय विपदमा अनलाइन पत्रिका तथा सामाजिक संजालहरुको डरलाग्दो दुरुपयोग

राष्ट्रिय विपदमा अनलाइन पत्रिका तथा सामाजिक संजालहरुको डरलाग्दो दुरुपयोग

1-IMG_0128-001 सम्पादकीय ————————————————

 कपन अनलाइन\३१ बैशाख २०७२
प्रकृतिक विपत्तिका कारण  यतिखेर देश ठूलो समस्यामा  छ   । अकल्पनीय रुपमा आएको भुकम्पका कारण उत्पन्न   विकाराल स्थितिलाई संहाल्न देशभित्रको संयन्त्र आफैमा अपुग छ । पहाडि क्षेत्रमा विशेषरुपमा प्रभावित भएको भुकम्पका कारण राहत सामग्री पुर्याउन सहज भैरहेको छैन । धेरै ठाउँमा बाटोको सुबिधा छैन भने प्रभावित क्षेत्रमा पुग्न पय्रोग गरिएको हेलिकप्टरले बोक्न सक्ने क्षमता अत्यन्त कमजोर भएको हुँदा राहतका सामग्री समयमा तथा समानुपातिकरुपमा पुर्याउन सकिएको छैन । तथापि यस्ता प्राकृतिक समस्याका बेलामा सबैभन्दा बढि खट्न तथा खटाउन सकिने सेना तथा प्रहरी अंगहरुले यतिखेर खटेर काम गरिरहेका छन् । राज्यले यस्तो बेलामा खटाउने र सक्रिय बनाउने भनेको यस्तै शक्तिलाई हो ।

विपद्को यो बेलामा अनलाइन पत्रकारिता भनिने केही बर्षेभेलजस्ता वेबसाइड र भुकम्पले फ्रिमा पाइएको मोबाइल इन्टरनेटको दुरुपयोग गर्दै फेशबुके सामाजिक संजालमा सरकारी संयन्त्र तथा संसद सदस्यहरुको बिरुद्ध लेखिएका जथाभावि कुराले नेपालको साख अन्तर्राष्टिय स्तरमा कमजोर प्रतित भएको छ । प्रधानमन्त्रि, उपप्रधानमन्त्रि वा प्रतिपक्षि दलका प्रमुख आफै नै गएर भग्नावशेषमा पुरिएका मानिसहरु निकालोस् भन्ने तात्पर्य लाग्ने शब्दहरु यतिखेर चौतर्फि पोखिएका छन् । बिरोधका नाममा अति अशिष्ट, गालीगलौजपूर्ण भाषाको प्रयोग गरेर दैनिक दुई–चार वटा पोस्ट गर्ने संस्कृति बनेको छ अहिले हाम्रो देशमा ।

इन्टरनेटमार्फत गरिने वा लेखिने सबै कुरा विश्वभरी एकैपटक जाने भएकाले यसले पार्न सक्ने असर एवम् प्रभावको बारेमा हेक्का बिना लेखिएका सस्ता शब्दले यूक्त भाषाहरुले राष्ट्र अस्तित्वलाई कमजोर बनाइरहेको छ । फेशबुके लाइकका नाममा लागि सरकार, कर्मचारी तथा सभासदको विरोधमा लेखिएका यस्ता सस्ता भाषा अनि शब्दले हामीलाई अझै परनिर्भर पनि बनाइरहेको छ । विदेशी नजरमा नेपालको सरकार, कर्मचारी एवम् संसदलाई हास्यास्पद बनाएको मात्र छैन कमजोर पनि बनाएको छ।

एउटा विकासशील देश भएका नाताले देशमा यावत् समस्याको समाधान आफैले गर्न सक्दैन । त्यसमाथि दैवि विपद्मा सरकारलाई संहालिन वैदेशिक सहयोगको साथमा आफ्ना जनताको पूर्ण समर्थनको आवश्यक्ता पर्दछ ।  आफ्ना जनताको सकारात्मक सोचाइ नै यो बेलाको एकमात्र आवश्यक पक्ष हो । यसले नै राज्यलाई नैतिक बल पुग्दछ ।  तर भर्खर भर्खर मोबाइल टेक्नोलोजीका केही पक्ष घरआँगनमा पुगेको हाम्रोजस्तो देशमा त्यही टेक्नेलोजी राज्य एवम् सरकार विरोधी बिरोधी भैदिँदा समग्रमा नेपाललाई कमजोर नै बनाइरहेको छ ।
देशको राष्ट्रपतिदेखि गोर्खा गाउँको एउटा सामान्य जनसामान्यसमेत खुल्ला आकाशमा बस्न परेका अवस्थामा हामीले सरकारी संयन्त्रलाई सकारात्मक सहयोग गर्न वा समर्थन गर्न नसक्नु भनेको हामीभित्रको नैतिक दरिद्रता मात्र हो । विश्वसामु हामीले सरकार, कर्मचारी र संसदको निकृष्ट गालीको नाममा आफ्नो नाक काटी रहेका छौं ।
सरकारी संयन्त्रदेखि जनसामान्यले भोगेको यो शताब्दीको सबैभन्दा ठूलो दैवी विपत्तिमा युरोप अमेरिकाको तुलना गरेर सामाजिक संजालमार्फत आफ्नालाई गाली बर्साउनु र समाचार बिक्छ भन्ने नाममा बिभिन्न भ्रामक तथा कपोलकल्पित कुराहरुलाई समाचार लेखनको सामान्य नियमभन्दा टाढा रहेर अनलाइन पत्रकारिताको नाममा लेख्नु दुवैको कपन अनलाइन बिरोध गर्दछ ।

तपाइँको प्रतिक्रिया ।