युएइमा जव एउटी बालिका सहयोग बोकेर दुतावास पुगिन् ….

युएइमा जव एउटी बालिका सहयोग बोकेर दुतावास पुगिन् ….

नेपालमा कतिपय बालबालिकाले आफ्नो बचतका रुपमा प्रयोग गर्ने खुत्रुके फुटाएर भूकम्प पीडितहरुलाई सहयोग गरिरहेको समाचार सार्वजनिक भइरहेका छन् । तर यो मानविय सहयोग नेपालमा मात्र सिमित छैन । युएईको आबुधावीकी एक १३ बर्षिया बालिकाले आफ्नो बचतका रुपमा राखेको १३ सय दिरहाम(झण्डै ३५ हजार रुपैंया) नेपालका बालबालिकालाई सहयोग गरेकी छिन् ।

Abudhabhi
मुसफाको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत फिरदुस फारुकीले टेलिभिजनमा नेपालका भूकम्प पीडित बालबालिकाको विजोग भएको देखेपछि आफूले जम्मा गरेर राखेको रकम सहयोेग गरेकी हुन् । उनी भारतको मुम्वईकी हुन् र हाल युएईमा अभिभावकसँग बसोवास गरिरहेकी छिन् ।
”मैले त्यो देखेपछि नजिकैको सुपरमार्केटमा गएर पानीको बोतल, धुलो दुधको प्याकेट, विस्कुट, तीनजना मान्छे बस्न मिल्ने एउटा टेण्ट र कम्मल किनेर नेपाली दुतावासमा गएर पुर्याएर आएँ” उनलाई उधृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ ।
उनले आफ्ना अभिभावकले दिएको रकम डेढ बर्षदेखि आफूलाई मन पर्ने ब्राण्डको विदेश व्याग खरिद गर्न सञ्चय गरिरहेकी थिइन् । सोही रकम अहिले उनले नेपालका भूकम्प पीडितका लागि सामान खरिद गर्न लगाएको समाचारमा उल्लेख छ ।
”म अहिले सहयोग गर्न पाएको धेरै सन्तुष्ट छु” ति बालिकाले भनेककी छिन् ”खुल्ला आकाशमुनी बसिरहेका, खानेकुरा नभएका ति व्यक्तिलाई देखेपछि मलाई धेरै नरमाइलो लाग्यो । उनीहरुसँग न बस्ने घर छ, न खानेकुरा छ, यतिसम्मकी उनीहरुसँग प्राथमिक उपचारका लागि औषधी र पानी समेत नभएको कुरा टीभिमा देखें” ति बालिकाको भनाई गल्फ न्यूजले उधृत गरेको छ ।
थोरै थोरै सहयोगबाट पनि धेरैलाई राहत पुर्याउन सकिने भन्दै फिरदुसले त्यसका लागि सवैले मद्धत गर्नुपर्ने बताइन् । ”मैले बच्चा देखि नै दुःखमा परेकाहरुलाई सहयोग गर्नुपर्छ भन्ने पढेकी र सिकेकी छु, त्यहि अनुसार अहिले आफूले सकेको सहयोग गरेकी हुँ” फिरदुसले भनेकी छिन् ।
फिरदुसकी आमा आसमा फारुकीले आफ्नी छोरीलाई दिएको पकेटमनीबाट उनले सहयोग गरेको देख्दा आफू धेरै हर्षित भएको बताइन् ।
युएईका लागि नेपाली राजदुत धनञ्जय झाले ति बालिकाले गरेको सहयोग साँच्चै प्रेरणादायी भएको बताए । ”उनलार्ई हामीले धन्यवाद पत्र लेखेर पठायौं” राजदुत झाले भने । युएईमा रहेका धेरै बालबालिकाले उनीहरुका परिवारलाई नेपालमा सहयोग गर्न आग्रह गरिरहेको आफूले थाहा पाएको भन्दै राजदुत झाले उनलाई नेपालीका तर्फबाट धन्यवाद दिए ।

तपाइँको प्रतिक्रिया ।