भुकम्पपछि त्रस्त, आक्रोशित र अव्यवस्थित कपन

भुकम्पपछि त्रस्त, आक्रोशित र अव्यवस्थित कपन

-केशव पाठक

पछिल्ला १५ वर्षमा अनियन्त्रित घना वस्तिमा परिणत भएको कपन क्षेत्र गत शनिवारको विशाल भुकम्पबाट मानसिक तथा भौतिक रुपमा आहात भएको छ । कपन तथा कपन आसपासका ४ वटा भौतिक धरोहर भत्किनुको साथै त्यहाँ सयौं मानिस हताहत भएपछि राजधानीभित्र कपनवासीहरु सबैभन्दा धेरै खुल्ला आकाशमा जीवन विताइरहेका छन् । कपनवासीलाई आफ्नो घरदेखेर डर लागिरहेको अवस्था छ । भुकम्प नआउँदा पनि हल्ल्रिहेको अनुभव गरिरहेका छन् अधिकांश कपनवासी । कमजोर घर, सानो बेसमा बनेको अग्ला घर एवम् थोरै जमिनमा बनेको ठूला घरको परिचय बोकिरहेको कपनका धेरै घर चर्किएका छन् भने २० प्रतिशत घर बस्नु अघि पूनर्निर्माणको आवश्यक्ता रहेको छ । त्यस्तै नयाँ वस्तिका ५ प्रतिशत घरहरु पूनर्निर्माण पछि पनि उपयोग गर्नु घातक देखिन्छ । केही घरहरु लड्न तयार भएर बसेका छन् । जगडोल र पैंयाटारका अधिकांश पूराना घर ढलेका छन् भने नयाँ घर पनि चर्किएका छन् । विशेषगरी खोला पुरेर ढल बनाइएका क्षेत्र वरपरका अधिकांश घरहरु जोखिममा देखिएका छन् । कपन तथा आसपासमा ढलेका ४ वटा घरहरु सबै नै खोला छेउका थिए ।

11012381_838288402892250_4227578862111913098_n

ठूलो भुकम्प आउला र आफ्नै घरमा चेपिएर मरिएलाकी भन्ने आशंकमा भुकम्पको चाप न्युन भैसक्दा पनि अधिकांश कपनवासी घर बाहिर नै बसेका हुन् । भुकम्पका कारण अधिकांश कपनवासी महिलाहरुमा मानसिक समस्या भएको अनुमान गर्नसकिन्छ । महिलाहरुका कारण पुरुषहरु घरभित्र चाहेर पनि पस्न नपाएको देखिन्छ । बालबालिका धेरै हुने घरहरु राति बच्चा सुतेको अवस्थामा भुकम्प आउँदा बच्चाहरुहरुलाई उठाउन नसकिने हुँदा घरमा बस्नभन्दा बाहिर नै बस्न सही हुने तर्कमा छन् । बालबालिकाहरु घर पस्न मान्दै मान्दैनन् धेरै खुल्ला क्षेत्रमा पाल टाँगेर बसेका अभिभावकहरुले कपन अनलाइनसँग भने ।

यसरी ५ दिनदेखि बाहिर बसेका कपनवासीमा स्वास्थ्य समस्या देखिएको छ । रुघा खोकी, ज्वरो, पखाला, बान्ताका विरामी बढ्दै गएका छन् । बाहिर बस्नका नाममा कमजोर खानेकुरा खाएका कारणले पनि उनीहरु यसरी विरामी परेको देखिन्छ । चाउचाउ, बिस्कुट, लेज, कुरकुेरेजस्ता खान नहुने बस्तुमा अनावश्यक निर्भर बनिरहेकाले विरामीहरु बढेको छन् भने खुल्ला ठाउँमा बस्नाले दिशा पिसाब पनि त्यही हुने भएकोले फोहरका कारण पनि मानिसहरुमा समस्या देखिएको छ । खाद्य पसलहरु खुले पनि कपनवासीहरु पकाएर खाने विषयभन्दा जंकफुडमा नै बढि भूलेको देखिन्छ । केही स्वास्थयसँग सचेत मानिसहरु पनि ग्याँस, चुलो, चामल, दालसहित डस्टविन राखेर बसेका छन् तर त्यसरी बस्नुलाई अधिकांशले पिकनिक भनेर आलोचना गरेको देखिन्छ । दुःखको बेलामा पनि यसरी बस्ने हो ? भनेर औँला उठाइएका छन् ।

राहतका नाममा कपन प्रहरी चौकीले दुईदिनदेखि वितरण गरिरहेको सिमित पाल लगायत केही खाद्यान प्राप्तिका लागि शिविरवासीहरु तँछाडमछाड गरेको देखिन्छ । यसरी तँछाडमछाड गर्ने अधिकांश मानिसहरु घरबार भएका र सबल आर्थिक अवस्था भएका मानिसहरु देखिन्छन् । बाहिरी जिल्लामा घरबार विहिनका लागि सहरमा बसेकाले केही सहयोग गर्न उत्प्रेरित हुनुको सट्टा यसरी पाल र दुईचार किलो राहत खाद्यका लागि तँछाड गरिरहेको कपनवासीको फोटो सामाजिक संजालमाहरुमा छ्याप्छ्याप्ति भएर कपनकै मानमर्दन समेत भएको देखिन्छ ।

अधिकांश बाहिरी जिल्लाबाट आएका मानिसहरुले भरिएको कपन आफ्नो जिल्लाका मानिसहरुलाई आएको राहत सामान आफूले नपाएको भन्दै सरकार तथा प्रहरीलाई सरापीरहेको देखिन्छ । अधिकांश कपनवासीहरुको फेसबुकलगायतको सामाजिक संजालमा गृहजिल्लामा राहत सामग्री नपुगेको दुखेसो र आक्रोश पोखिएको छ तर निकै कममात्र मानिसहरु गृहजिल्लाको सहयोगमा जुटेको देखिन्छ । चियापसल, तासको खालमा सरकारी निकाय चोर भनेर भन्ने प्रवृति यो भुकम्पपछि झनै बढेको देखिन्छ ।

कपन क्षेत्रका अधिकांश बालबालिकाहरु निन्याउरा भएका छन् भने ५ दिनदेखि प्रायः कसैले नुहाएका छैनन् । खानेपानीको अभाव टड्कारो देखिएको छ । जोरधाराले बिभिन्न शिविरहरु रहेको ठाउँमा आफ्नो पानी निशुल्क वितरण गरे त्यो पानी फिल्टर विना पिउनु एक किसिमको जोखिम देखिन्छ । मिनरल वाटर भनेर बेचिने जार पनि राम्ररी पाउन सकिएको छैन । पाइए पनि त्यो पानी राम्रो हो भन्ने विश्वास गर्न अत्यन्त गारो छ । पानीका लागि हाडालुस र हल्का कालोबजारी भएको देखिन्छ कपनमा ।

नेपालमा यो शताब्दीकै सबैभन्दा ठूलो प्राकृतिक विपत्तिको रुपमा आएको भुकम्पले ठूलो धनजनको क्षति भएको छ । कति भौतिक क्षति तथा कति मानिस मारिए भन्ने आधिकारिक डाटासमेत तत्काल निकाल्न सकिने अवस्था छैन । वागमति र गण्डकी अंचल बढि प्रभावित भएको गत शनिवारको भुकम्पबाट अहिलसम्म आधिकारिक रुपमै ५ हजारभन्दा बढि मानिस मारिएको डाटा आइसकेको छ भने यो डाटा १० हजारसम्म पुग्ने सरकारी अधिकारी बताउँछन् । बिभिन्न निजी संस्था तथा विदेशी समाचार संस्थाहरुले २० हजार मानिस मारिएको बताएका छन् । काठमाडौं उपत्यकाको भुकम्पको क्षतिलाई अझै पन्छ्याउन सकिएको छैन । कतिपय भग्न घरमा अझै मानिसहरु पुरिए रहेका छन् ।

एक निजी सर्वेक्षक संस्थाका अनुसार अझै काठमाडौं, ललिपुर र भक्तपुरमा ५०० मानिस हराइरहेका छन् । विश्व सम्पदा सूचिका महान सांस्कृतिक तथा धार्मिक धरोहरहरु भुकम्पले नष्ट भएकाले विनाशको स्वरुपलाई तथ्यांकमा ल्याउने सकिने अवस्था नरहेको सरकारी निकाय बताइरहेको छ । उपत्यकाका करिब ५० प्रतिशत घर चर्किएका छन् भने करिब १० प्रतिशत घर बस्न योग्य नभएको बताइएको छ । सहरमा राम्रा घरको रुपमा चिनिने सपिङ मल, अपार्टमेन्ट तथा हस्पिटलजस्ता ठूला घरहरु ठूलोमात्रा क्षति भएको छ । सिटि सेन्टर, सिभिल ट्रेड सेन्टरजस्ता सोफेस्किेटेड मलहरु प्रयोग गर्न योग्य नभएको बताइन्छ भने ग्राण्डी हस्पिटल, काठमाडौ मेडिकल कलेजजस्ता अस्पताल पनि नराम्ररी चर्किएका कारण माथिल्ला तलाहरु उपयोग गर्न छाडिएका छन् ।

तपाइँको प्रतिक्रिया ।