नयाँ वर्षमा कसले के कामना गरे ?

नयाँ वर्षमा कसले के कामना गरे ?

काठमाडौँ, १ वैशाख – आजबाट वि सं २०७१ को अन्तय भएर वि सं २०७२ सालको सुभारम्भ भएको छ। सम्पूर्ण नेपालीहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाउदैँ छन् । यसै क्रममा विभिन्न राजनीतिक व्यक्तिहरुले पनि शुभकामना दिएका छन्।

15041409ram

प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।  नव वर्ष २०७२ को शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले राजनीतिक दलबीचको निरन्तर संवाद, सहकार्य, एकता र मेलमिलापबाटै राजनीतिक सहमति कायम हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

लोकतान्त्रिक शासन व्यवस्थाको लागि हाम्रा अग्रज नेताहरू र योद्धाहरूले दिएको बलिदान र योगदानलाई स्मरण गर्दै नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको कार्यलाई हामीले सफल पार्नै पर्दछ। यो ऐतिहासिक दायित्व पूरा गर्न नयाँ वर्ष २०७२ ले हामी सबैलाई प्रेरणा दिनेछ, सन्देशमा भनिएको छ।

यस्तै राष्ट्रपति डा. रामवरण यादवले  नेपालीको चाहना बमोजिम संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भई देशमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युग सुरु हुन सकोस् भन्ने कामना गरेका छन्।

नयाँ वर्ष २०७२ सालका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले यो आकाङ्क्षा पूरा गर्न राजनीतिक दलले तात्कालीक लाभहानिभन्दा माथि उठेर राष्ट्र र जनताको दीर्घकालीन हितलाई सर्वोपरी राखी देशका सबै वर्ग र क्षेत्रले अपनत्व महसुस गर्ने संविधान दिन सक्नुपर्ने बताए।

नववर्षसँगै देशमा नयाँ लोकतान्त्रिक संविधान जारी भई राजनीतिक स्थिरता, आर्थिक विकास र सामाजिक सद्भाव कायम हुन सकोस् भन्दै उनले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न प्रेरणा मिलोस् भनी कामना गरेका छन्।

यस्तै उपराष्ट्रपति परमानन्द झाले नव वर्ष २०७२ का उपलक्ष्यमा शुभकामना सन्देश दिँदै जनचाहनाबमोजिम लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालीमा जनप्रतिनिधिमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुन सक्छ भन्नेमा कुनै द्विविधा नभएको बताएका छन्।

नेपाली नागरिकले अनवरत रुपमा गर्दै आएको बलिदानपूर्ण सङ्घर्ष र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागतरुपमा सुदृढ गर्नु नै आजको टड्कारो आवश्यकता भएको उनले दिएको सन्देशमा उल्लेख गरिएको छ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकको आफ्नो अधिकार सहितको संविधान प्राप्त गर्ने चाहना पूरा होओस् भन्ने कामना गरेका छन्। नयाँ वर्ष सुरु भएको रातको १२ बजे शुभकामना सन्देश दिंदै उनले सबैको जीवनमा खुशीशाली छाओस् भन्दै सुख, शान्ति, सम्बृद्धि र दीर्घायुको कामना गरेका छन्।

यस्तै नेकपा एमालेका नेता माधवकुमार नेपालले  जनताका बीचमा आफूहरूले गरेको प्रतिबद्धताअनुरुप संविधान निर्माण गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र मुलुकलाई आर्थिक विकासका बाटामा अगाडि बढाउने आधार आगामी २०७२ भित्र तयार गरिसक्नुपर्ने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले सबै सरोकार भएकामा जागरुकता पलाओस्, २०७२ को सुरु सुरुमै मुलुकमा संविधान जारी हुन सकोस् र हामी सबै राष्ट्र निर्माणमा एक जुट भएर अगाडि बढ्न बढ्नु पर्छ-शुभकामना सन्देशमा भनिएको छ।

तपाइँको प्रतिक्रिया ।