विस्केट जात्रामा आज लिंगो उठाइदै, हेर्न आउनेको बिहानैदेखि घुइँचो

विस्केट जात्रामा आज लिंगो उठाइदै, हेर्न आउनेको बिहानैदेखि घुइँचो

भक्तपुर, १ वैशाख – भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने विस्केट जात्रा मंगलबार बिहानैदेखि सुरु भएको छ।

भक्तपुरको भेलुखेलमा सोमबार राति पौने १० बजे उठाइएको लिंगो जात्रा हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे लगायतका क्षेत्रबाट आएका हजारौं मानिसको मंगलबार बिहानै देखि भीड लागेको छ। गःहिटीमा रहेको भैरवलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हात लामो ईन्द्रध्वजा सहितको लिंगो उभ्याउने परम्परा छ।

15041409bisket

चैत्र मसान्तमा ईन्द्रध्वजा सहितको लिंगो उठाउने र मंगलबार दिनभर भव्य मेला गरी बेलुका लिंगो ढाल्ने गरिन्छ। यो जात्रा हेरेमा मनोकांक्ष पुरा हुने, शत्रु नाश हुने जनविश्वास रहेको छ। लिच्छवीकालदेखि विस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरका बासिन्दाले नौ दिन आठरातसम्म मनाउने गर्दछन्। परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा विस्केट अर्थात सर्प मारियो भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ।

किम्वदन्ती अनुसार परापूर्वकालमा भक्तपुरका एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन्। राजाले छोरीसँग विहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने भनेपछि ती राजकुमारीसँग विहे गर्न धेरै आए र विहे गरे।

विहे गरेकै रात राजकुमारको निधन हुने भएकाले राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पुर्याउने मलामी गुठी नै स्थापना गरे। एकदिन बुद्धिमानी राजकुमारले राजकुमारीसँग विहे गरे र राति ओछ्याउनमा राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स-साना नागनागिनी निस्केर अजिंगरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए।

ती नागनागिनीले अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौं, हाम्रो पुरूषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरेको विश्वास गरिन्छ। यसरी अजिंगरको स्वरूप हुने नागनागिनी मारिएको खुसीयालीका साथ यो जात्रा मनाउन थालिएको र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिंगो भेलुखेल स्थित ल्योसिंखेलमा ठड्याउने गरिन्छ।

तपाइँको प्रतिक्रिया ।