बाग्मतीको जल २५ वर्षदेखि पशुपतिमा चढाउन छोडियो

बाग्मतीको जल २५ वर्षदेखि पशुपतिमा चढाउन छोडियो

काठमाडौँ, ३० चैत । पशुपतिनाथ मन्दिर स्थापना भएदेखि नै बाग्मती नदीको जलले स्नान गराएर चढाउने गरिएकामा विगत २५ वर्षदेखि अशुद्धताले गर्दा जल चढाउन सकिएको छैन ।
बाग्मतीमा ढल हाल्न थालिएपछि २०४७ सालदेखि बाग्मतीको जलले स्नान नगराई भष्मेश्वरघाटको पश्चिममा पञ्चदेवलको अगाडि रहेको परम्परागत इनारलाई मर्मतसम्भार र पुनःनिर्माण गरी जल चढाउन र स्नान गराउन सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बाग्मती नदी किनारमा रहेका पशुपतिनाथ, गोकर्णेश्वर, सुन्दरीमाई, शङ्खमूल र त्रिपुरेश्वर क्षेत्रका मन्दिरको पवित्रता बाग्मती नदीका कारण भएकामा नदीको अशुद्धताले ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक स्थलको अस्तित्व सङ्कटमा परेको कोषका सदस्यसचिव डा गोविन्द टण्डन बताउनुभयो ।

download
“बाग्मती तीर्थको महत्व नदीमा स्नान गर्नु नै हो, यहाँ स्नान गर्दा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने कुरा शास्त्रमा वर्णन गरिएको छ” उहाँले भन्नुभयो ।
बाग्मतीको जल चढाउन नसकिने अवस्थामा पुगेपछि सुधारका लागि नदी सफाइ र ढल सुधारको कार्यक्रम सुरु भएको थियो । ध्रुवराम भण्डारीको संयोजकत्वमा सरकारले गठन गरेको समितिले अपेक्षा गरेअनुरुपको काम गर्न नसकेपछि सांसद विद्यादेवी भण्डारीको नेतृत्वमा बाग्मती ढल सुधार आयोजनाको गठन गरिएको थियो ।
करिब छ महिना काम गरेपछि यो समितिले पनि आशा गरेबमोजिमको उपलब्धि हासिल गर्न नसकेपछि मन्त्रिपरिषद् बैठकले विदुर पौडेलको अध्यक्षतामा अधिकार सम्पन्न बाग्मती क्षेत्र ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिको गठन गरेको थियो ।
मन्त्रिपरिषद्को अख्तियारीसहित गठन आदेश जारी गरेर बनाइएको सो समितिले केही उपलब्धि हासिल गरे पनि बाग्मतीमा स्नान गराउन र जल चढाउन हुने अवस्थामा पु-याउन नसकेको समितिका अध्यक्ष पूर्व सांसद पौडेल स्वीकार्नुहुन्छ ।
विभिन्न नाममा फेरबदल हुँदै यो समितिले अहिलेसम्म निरन्तरता पाए पनि बाग्मतीको पानी अझै पशुपतिमा स्नान गराउन र चढाउन हुने अवस्थामा पुगेको छैन ।
“समितिले ४० मिटरको नदी क्षेत्र र दायाँबायाँ २०÷२० मिटरको हरियाली पार्कका लागि जग्गा छोडी गोकर्ण–गुह्येश्वरी क्षेत्रमा नदी व्यवस्थित गर्ने काम गरेको छ”– उहाँले भन्नुभयो “गुह्येश्वरीमा प्रशोधन केन्द्र निर्माण गरी पानी शुद्धीकरण गरिए पनि पशुपतिमा स्नान गर्न योग्य बनाउन सकिएन, नदीमा ढल हाल्न नछोडेसम्म पानी शुद्ध बनाउन सकिँदैन, माथिदेखि नै ढल हाल्न छोड्ने हो भने जल स्नान गराउन र चढाउन पनि सकिन्छ ।”
पशुपतिमा सुन्दरीजलबाट सिधै पानी ल्याएर स्नान गराउने र जल चढाउने व्यवस्था गर्न खोजिए पनि त्यो सम्भव नभएको सदस्यसचिव टण्डन बताउनुहुन्छ ।

 

तपाइँको प्रतिक्रिया ।