शुल्क वृद्धिविरुद्ध अखिल (क्रान्तिकारी)को चरणबद्ध आन्दोलन घोषणा

काठमाडौँ, ३० चैत । जिल्ला शिक्षा कार्यालयहरुले आगामी शैक्षिक सत्रका लागि संस्थागत रुपमा नै २३ देखि ४३ प्रतिशतसम्म शुल्क वृद्धिको अनुमति दिएकोप्रति नेकपा–माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।

क्रान्तिकारीका अध्यक्ष सुरेश गौतमद्वारा आज जारी विज्ञप्तिमा शुल्क वृद्धिविरुद्ध चरणबद्ध आन्दोलनसमेत घोषणा गरिएको छ ।

शुल्क वृद्धिको निर्णयका विरुद्धमा साङ्केतिक रुपमा आज देशै भरका छानियका निजी शैक्षिक संस्थाका लेखा तथा प्रशासन शाखामा तालाबन्दी गर्ने, वैशाख २ गते जिल्ला शिक्षा कार्यालयमा दुई घन्टा धर्ना दिने र वैशाख ३ गते शिक्षा विभागमा धर्ना दिने रहेका छन् ।

उचित अनुगमन तथा निरीक्षणसमेत नगरी निजी शैक्षिक संस्थाको दबाब र प्रभावमा शुल्क वृद्धिको निर्णय गर्नु आम विद्यार्थी र अभिभावकमाथिको आर्थिक शोषण भएको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतको तीन वर्षसम्म शुल्क वृद्धि नगर्न दिएको आदेशको निजी शैक्षिक संस्थाले गरेको अवज्ञा गर्दै विगतका तीनै वर्षमा गरिएको शुल्क वृद्धिलाई यथावत राख्दै गरिएको शुल्क वृद्धिलाई अनुमति दिनु खेदपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

सो सङ्गठनले अभिभावकको आर्थिक शोषण गर्ने यस्ता गैरजिम्मेवार निर्णय तत्काल खारेज गर्न र निजी विद्यालयको पूर्वाधार, पाठ्यक्रम र शुल्क देशैभरि समान कायम हुने गरी मापदण्ड निर्धारण नगरी शुल्कसम्बन्धी कुनै पनि निर्णय नगर्न माग गरेको छ ।

तपाइँको प्रतिक्रिया ।