परीक्षाफल लिएर स्कुलबाट फर्किएका चार बालिका महाकालीमा हाम फाले

भीमदत्तनगर, ३० चैत । आज बिहान ८ बजे प्रकाशित भएको परीक्षाफलको नतिजा लिएर घर फर्किएका दार्चुलाका चार बालिकाले महाकाली नदीमा हामफालेका छन् ।
दार्चुलाका दत्तु गाविस–४ मा रहेको राष्ट्रिय उच्च माविमा अध्ययनरत चार बालिकाले महाकालीमा हामफालेका हुन् ।
उनीहरुले सामूहिकरुपमा महाकालीमा हामफालेको राष्ट्रिय उच्च माविका प्राचार्य राजेश सिंह सामन्तले जानकारी दिनुभयो । हामफालेर महाकालीमा बेपत्ता हुनेमा दत्तु गाविस–२ का कक्षा ७ मा अध्ययनरत ममता चुनारा, कक्षा–७ मै अध्ययनरत १४ वर्षीय पूजा कोली, कक्षा ६ मा अध्ययनरत १२ वर्षीया नितु लोहार र कक्षा ६ मा अध्ययनरत १३ वर्षीया ममता चुनारा रहेका छन् ।
विद्यालयका प्राचार्य सामन्तले दिएको जानकारीअनुसार हामफालेकामध्ये कक्षा ६ मा अध्ययनरत १२ वर्षीया ममता चुनारा द्वितीय श्रेणीमा पास भएकी थिइन् । उनले जम्मा ४३२ अङ्क ल्याएको प्राचार्य सामन्तले बताउनुभयो ।
त्यसैगरी ६ कक्षामा अध्ययनरत नितु लुहार ३३१ अङ्कसहित अनुत्तीर्ण, ७ मा अध्ययरनत ममता चुनारा ३३९ अङ्कसहित अनुत्तीर्ण र ७ मै अध्ययनरत पूजा कोली ३५९ अङ्क ल्याएर अनुत्तीर्ण भएको सामन्तको भनाइ छ ।
अनुत्तीर्ण भएका नितुलाई पाँच विषय, ममता र पूजालाई चार÷चार विषय लागेको उहाँले बताउनुभयो । “१ कक्षादेखि ९ सम्मको परीक्षाफल प्रकाशित गरेका थियौँ ।” प्राचार्य सामन्तले भन्नुभयो– “जसमा १८९ जनाको परीक्षाफल प्रकाशित भएको थियो ।” ‘चारजना बिहान स्कुल आएर लब्धाङ्कपत्र लिएर गएका हुन् ।”]
उहाँले भन्नुभयो– “हामफाल्नुका खास कारण भने पृष्टि हुनसकेको छैन ।” उहाँले परीक्षामा अनुत्तीर्ण भएका कारण हामफालेको हुनसक्ने अड्लन गर्नुभयो । उनीहरुले हाम फालेको स्थान स्कुलभन्दा ४०० मिटर मात्रै टाढा रहेको छ ।
त्यसैगरी दार्चुलाका निमित्त जिल्ला शिक्षा अधिकारी नरेन्द्रसिंह ठगुन्नाले पनि हामफाल्नुको कारण पुष्टि हुन नसकेको बताउनुभयो । त्यसैगरी बालिकाहरुसँगै रहेकी १३ वर्षीया कमला डाँगीले उनीहरुले एउटै पछ्याँैरीमा बाँधिएर महाकालीमा हाम फालेपछि घटनाबारे थाहा भएको हो ।
बालिकाहरुको खोजी कार्यमा अहिले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली महाकालीमा खटिएको छ । सशस्त्र प्रहरी टोलीका प्रहरी निरीक्षक देवसिंह ठगुन्नाले आफूहरु दत्तुबाट खोजी गर्दै जोलजिबीसम्म पुगेको बताउनुभयो ।
“अहिलेसम्म बालिकाहरु भेटिएका छैनन्” सशस्त्र प्रहरी निरीक्षक ठगुन्नाले भन्नुभयो– “बेत भन्ने ठाउँमा दुईवटा बालिकाको शव भेटियो भन्ने अपुष्ट खबर आएको छ ।” “हामी अहिले बेततर्फ खोजी गर्दै जाँदैछौँ” उहाँले भन्नुभयो ।

तपाइँको प्रतिक्रिया ।