बाग्मती सफाइ महाअभियान सुरु, हजारौँको सहभागिता

बाग्मती सफाइ महाअभियान सुरु, हजारौँको सहभागिता

काठमाडौँ, २८ चैत । बाग्मती सफाइ महाअभियान १००औँ हप्ता विशेष कार्यक्रम सुरु भएको छ । सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा हजारौँको सहभागिता रहेको छ ।
राष्ट्रिय गानबाट सुरु भएको महाअभियान बाग्मती नदी प्रणालीको सरसफाइ सम्बन्धमा आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।Bagmati-Saphai-Abhiyan
महाअभियानमा सहभागीले ‘बाग्मती नदी सफा गछौँ’ ,‘सफा गर्न सक्छौँ’ ‘हामीले नगरे कसले गर्छ’, ‘अहिले नगरे कहिले गर्ने’ भन्ने सपथसमेत लिएका छन् । बाग्मती सफाइ महाअभियानका अभियन्ता मुख्यसचिव लीलामणि पौड्यालले सुन्दरीजल ओख्रेनी माविमा सफाइको नेतृत्व गर्नुभएको छ । रासससँग उहाँले ८ः१५ सम्ममा मानव साङ्लो बनिसक्ने प्रतिक्रिया दिनुभयो ।
सफाइ महाअभियान एक सय हप्ता पुगेको अवसरमा बाग्मती नदीमा ५६ किलोमिटर क्षेत्रमा लामो मानव साङ्लो बनाइएको छ ।
बाग्मती नदी किनारको दुवै क्षेत्रमा हजाराँै नागरिक सहभागी भएका छन् । सफाइका लागि सरकारले विभिन्न मन्त्रालयका १३ जना सचिवलाई विभिन्न १३ स्थानमा संयोजक तोकेको छ भने विभिन्न क्षेत्रमा स्थापित १२ जना व्यक्तित्वलाई समन्वयकर्ताको जिम्मा दिइएको छ । उहाँहरु आ–आफ्ना तोकिएका क्षेत्रमा उपस्थित भई सफाइ अभियानमा सहभागी हुनुभएको छ ।
सफाइ महाअभियानमा मानव साङ्लो बनाइएको छ र मानव सभ्यताको मुहानको रुपमा लिइएको नदी सफा गराँै भन्ने सन्देश दिन खोजिएको छ । विश्वका पुरानो मानव सभ्यतामध्ये बाग्मती सभ्यता पनि एक हो । ‘बाग्मती बा’ का रुपमा परिचित हुतराम वैद्यले सुरु गर्नुभएको बाग्मती सफाइ अभियानले आज सार्थकता पाउन लागेको हो । बाग्मती सफाइ अभियान २०७० जेठ ५ गतेबाट सुरु भएको हो ।
प्रधानमन्त्री सुशील कोइराला पशुपतिनाथ–तिलगङ्गा क्षेत्रमा सहभागी हुनुहुने उहाँका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । यस्तै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली थापाथली क्षेत्रमा सहभागी हुनुभएको छ । त्यस्तै एमाले उपाध्यक्ष भीम रावललगायतका नेताहरु सो क्षेत्रमा सहभागी हुनुभएको छ ।
अभियानमा अध्यक्ष ओलीका बुबा मोहन ओलीसमेत सहभागी हुनुभएको छ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल तिनकुने क्षेत्रमा सहभागी हुनुभएको छ ।
यस्तै चोभार सुन्दरीघाटमा हजारौँको सहभागिता रहेको छ । अभियानका अभियन्ता पूर्व सचिव किशोर थापाले अभियान सफल भएको जानकारी दिनुभयो । सुन्दरीघाटमा कीर्तिपुर क्षेत्र र त्यस आसपासका हजारौँको सहभागिता रहेको कीर्तिपुर पर्यटन विकास समितिका सचिव वीरेन्द्र शाक्यले जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन आज बिहानैदेखि सुरक्षाकर्मी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि सहभागी भएका छन् ।
यस्तै तिलगङ्गा क्षेत्रमा सफाइका लागि सहभागी हुनुभएका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले हामीले गरेको फोहर हामीले नै सफा गरौँ भन्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले बाग्मती नदीको पानी पिउनयोग्य बनाउने गरी सफाइ गर्न आफूहरु लागेको बताउनुभयो ।
यसैगरी प्रसूतिगृह क्षेत्रमा उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, दलका सभासद्, सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लको नेतृत्वमा सफाइ अभियान सुरु भएको छ ।
उक्त क्षेत्रमा सूचना तथा सञ्चार मन्त्रालय र मातहतका कार्यालयका साथै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारी र स्थानीयवासीको ठूलो सङ्ख्यामा उपस्थिति थियो ।
महाअभियानमा नेपाली सेनाले विभिन्न स्थानमा पाँच हजार, सशस्त्र प्रहरी बलले तीन हजार र नेपाल प्रहरीले पाँच हजार जनशक्ति परिचालन गरेको छ ।

तपाइँको प्रतिक्रिया ।