तनाव कम भएपछि बङ्गलादेशका प्रतिपक्षी नेता कार्यालयबाट बाहिरिए

ढाका, २२ चैत । बङ्गलादेशका प्रतिपक्षी नेत्री खालेदा जिया गत तीन महिनामा पहिलोपटक आइतबार आफ्नो कार्यालयबाट बाहिर आउनुभएको छ । यसअघि यो मुलुक राजनीतिक सङ्कटमा परेको थियो र त्यहाँ घातक प्रदर्शनका साथमा तनाव देखा परेको थियो । हाल तनाव कम भएको देखिएको छ ।
यसपछि ६९ वर्षीया नेत्री जियालाई कारबाट अदालतमा लगिएको थियो र उहाँले त्यहाँ आफूलाई समर्पण गर्नुभयो । उहाँलाई त्यहाँ उहाँविरुद्धका मुद्दामा जमानत दिइयो । उक्त समयमा अदालतमा सयौँ प्रहरी तथा सीमा सुरक्षाकर्मी उपस्थित थिए र सुरक्षा व्यवस्था निकै कडा थियो ।
अधिकारीहरूले उहाँलाई ढाका जिल्लास्थित उहाँको कार्यालयमा जनवरी ३ देखि नियन्त्रणमा राखेका थिए । उहाँले मुलुकमा भएको विवादास्पद निर्वाचनको पहिलो वर्षदिनमा राजधानीमा सरकारविरोधी व्यापक प्रदर्शन आह्वान गर्नुभएको थियो ।
पूर्व प्रधानमन्त्री जिया भ्रष्टाचारको मुद्दामा भएका सुनुवाईमा अदालतमा उपस्थित हुन नसकेपछि फेब्रुअरी महिनाको अन्त्यतिर एक न्यायाधीशले उहाँमाथि पक्राउ आदेश जारी गरेका थिए ।
बङ्गलादेश नेसनालिस्ट पार्टीका प्रवक्ता समसुदिन दिदरले नेत्री जिया बिहानको ९ः५५ बजे कार्यालयबाट बाहिरिनुभएको र उहाँलाई भ्रष्टाचारका दुबै मुद्दामा जमानत प्राप्त भएको बताउनुभयो ।
नेत्री जियाले जनवरी ५ मा राजधानीमा प्रदर्शन गर्ने चेतावनी दिनुभएको थियो ।
विगतमा झै कामचलाउ सरकारअन्तर्गत निर्वाचन हुनुपर्ने भनी बीएनपी तथा २० दलको प्रतिपक्षी गठबन्धनले उक्त निर्वाचन बहिष्कार गरेका थिए । उक्त गठबन्धनको नेतृत्व नेत्री जियाले गर्नुभएको थियो ।
प्रहरीले उहाँको कार्यालयको मुख्य ढोकामा ताल्चा लगाएको थियो र उहाँ उक्त कार्यालयको प्ररिसरबाट बाहिर जान खोज्दा प्रहरीले उहाँमाथि अश्रुग्यास प्रयोग गरेको थियो । यसपछि प्रहरीले उक्त ढोका बन्द गर्न बालुवा तथा इँटा भरिएको दशवटा ट्रकले छेकेको थियो ।
यसको केही सातापछि अधिकारीहरूले उहाँ अव कार्यालयबाट बाहिर जान स्वतन्त्र भएको भनी सुरक्षा व्यवस्था खुकुलो बनाएका थिए । बीएनपीले भने उहाँ अझै कार्यालयमा नियन्त्रणमा रहनुभएको दाबी गरेको थियो ।
उहाँको कार्यालयको परिसरमा लागेको प्रतिबन्ध अझै कायम थियो । एक दर्जनभन्दा बढी व्यक्तिले नेत्री जियालाई भेट्न खोज्दा तथा उहाँका लागि खाना ल्याउन खोज्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
आफ्नो कार्यालयमा सीमित भएपछि नेत्री जियाले आफ्ना समर्थकलाई मुलुकभर यातायात बन्द गर्न आह्वान गर्नुभएको थियो ।
यो बन्द उहाँका कडा प्रतिद्वन्द्वी प्रधानमन्त्री सेख हसिना वाजेदलाई पदबाट राजिनामा दिन तथा निष्पक्ष प्रशासनअन्तर्गत नयाँ निर्वाचन गर्ने मार्ग खुला गर्न बाध्य बनाउने उद्देश्यले आयोजना गरिएको थियो ।
यस बन्दका कारण घातक हिंसा देखापरेका थिए भने प्रतिपक्षी कार्यकर्ताले बस तथा ट्रकमा आक्रमण गर्दा तथा प्रहरीले उनीहरूमाथि गोली प्रहार गर्दा १२० व्यक्तिको मृत्यु भएको थियो ।
यो अस्थिरता अन्त्य गर्न प्रधानमन्त्री हसिना वाजेदले गर्नुभएको कारवाहीमा करिब १५ हजार प्रतिपक्षी समर्थक तथा बीएनपीका दर्जनौँ व्यक्तिलाई पक्राउ गरिएको थियो ।
हालका दिनमा तनाव कम भएको छ । हाल यातायात बन्दको प्रभावकारिता घटेपछि आमपक्राउ पनि घटेको छ । हाल बीएनपी राजनीतिमा फर्केको छ र उसले ढाका तथा बन्दरगाहयुक्त नगर चटगाउँको स्थानीय परिषद्को निर्वाचनमा मेयर पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ ।
शनिबार बीएनपीका अधिकारीहरूले पार्टीको मुख्य ढोकामा लगाइएको ताल्चा फोडेका छन् । उक्त ताल्चा प्रहरीले यसै वर्षको आरम्भ लगाई त्यसमा सिलछाप लगाएको थियो ।
सन् २००१ देखि २००६ सम्म जिया प्रधानमन्त्री हुँदा उहाँले स्थापना गर्नुभएको एक कोषबाट छ लाख ५० हजार अमेरिकी डलर बराबर हिनामिना गरेको आरोपमा फेब्रुअरी महिनामा अदालतले उहाँमाथि पक्राउ आदेश जारी गरेको थियो । उक्त फक्राउ आदेश हालसम्म उपयोग भएको छैन ।
जियाले उक्त मुद्दा राजनीतिक रूपमा अभिप्रेरित भएको र त्यो आफ्नो पार्टी नष्ट गर्ने उद्देश्यले तयार गरिएको दाबी गर्नुभएको छ । प्रतिपक्षी नेतामाथि हालको हिंसाका विषयमा चारवटा अन्य मुद्दा पनि चलेको छ ।
संयुक्त राष्ट्र सङ्घ र बङ्गलादेशको ठूलो व्यापार साझेदार युरोपेली युनियनले सरकार तथा प्रतिपक्षी नेतालाई वार्ता गरी सङ्कट समाधान गर्न आग्रह गरेका छन् । एएफपी

तपाइँको प्रतिक्रिया ।