मृत्यु अगावै कात्रोको जोहो गर्दै गाउँले

ओखलढुंगा, ५ चैत । आफ्नो मृत्यूपछि चाहिने वस्तुको जोहो जिउँदैमा गरेको सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर ओखलढुंगाको कालिका गाविसका बासिन्दाले मरेपछि घाटमा लैजाँदा प्रयोग गरिने कात्रो अर्थात सेतो कपडाको जोहो गरेर राख्ने गरेका छन् ।
यो अनौठो लाग्ने प्रचलन ओखलढुंगाको पश्चिमी दुर्गम गाउँ कालिका गाविसमा ५ वर्षअघि सुरु भएको हो । स्थानीय कालिकादेवी विकास युवा मञ्चको अगुवाईमा मान्छेको मृत्यु अगाडि नै कात्रोको जोहो गरेर राख्न थालिएको स्थानीय युवा विष्णुकुमार बुढाथोकीले बताउनुभयो ।
मान्छेको मृत्यु भएपछि सामाजिक परम्परा अनुसार कात्रो ओढाएर गरिने अन्तिम संस्कारका लागि कात्रोको व्यवस्था क्लवले नै गर्दै आएको छ । दुर्गम गाउँ भएकाले नजिकमा कपडा पसल नहुँदा कात्रो किन्न एक दिन हिंडेर बजार जानु पर्ने र मरेको लाश दिन रात कुरेर बस्नु पर्ने गाउँको समस्या हल गर्न क्लवले नै गाउँमा आवश्यक पर्ने कात्रो किनेर जोहो गर्ने गरेको स्थानीयबासिन्दाले बताएका छन् ।
क्लवले  क्रियामा बसेका क्रियापुत्री उकास्न पाँच हजार रुपैयाँ नगदसमेत बिना व्याज सापटी दिने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।