मेलम्चीमा पानी नहुँदा, शौचालय बनेन

मेलम्चीमा पानी नहुँदा, शौचालय बनेन

मेलम्ची : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ स्थित फटकशीला तीनघरेका प्रायः घरमा अहिलेसम्म शौचालय निर्माण भएको छैन । पानीको अभावकै कारण शौचालय बनाउन नसेकर तीनघरेवासी खुला दिसा गर्न बाध्य छन् ।toilet-300x224

पानीको मुहानबाट गाउँसम्म पानी ल्याउन कतैबाट पाइप उपलब्ध गराए मात्र शौचालय बनाउने बताएका छन् । खानेपानीकै अभाव भएकाले शौचालयका लागि पानीको व्यवस्था भइदिए आफूले छिट्टै शौचालय निर्माण गर्ने तीनघरेकी सिर्जना दनुवार बताउछन् ।

तीनघरे गाँउमा पानीको चरम अभाव रहेको छ । यस गाउँका महिला खानेपानी लिन बिहान चार घण्टा समय छुट्याउने गर्दछन् ।

खानेपानीको सहज आपूर्ति भए सबै जना मिलेर घरैपिच्छे चर्पी बनाउने अभियानमा लाग्ने दनुवार बताउछन् । तीनघरेमा रहेको २८३ घरधुरीमा टोलपिच्छे ५÷६ घरको फरकमा पक्की धारा बनाइएको छ । धाराको प्रयोग हुन नसक्दा जीर्ण बनेका छन् । पानी ल्याउन कम्तीमा दुई क्वाइल पाइप भए पुग्ने स्थानीय शक्ति दनुवार बताउछन् ।

शौचालयको निरीक्षण गर्न तीनघरे पुगेका सञ्चारकर्मी र सामाजिक संस्थाका पदाधिकारीलाई उनले भने “तपाईंहरु शौचालय बनाउनु भन्नुहुन्छ, हामीले पानी नभई कसरी चर्पी प्रयोग गर्ने ? पाइप दिएर गाउँमा पानीको व्यवस्था गरिदिए हामी सबैले चर्पी बनाउछौँ ।”

गाउँमा धेरै समय पहिलादेखि नै खानेपानीको समस्या सुरु भएको हो । बासिन्दाले खानेपानीको समस्या झेल्दै आएको सानो खड्गबहादुर दनुवार बताउछन्् । खानेपानीको सहज आपूर्तिका लागि स्थानीय जनताले अनेकौं प्रयास गरेपनि अझै सफल हुन सकेको छैन ।

तीनघरेको दुनवार बस्ती रहेको २७ घरधुरी खानेपानीकै कारण अन्तै बसाइँ सर्नुपर्ने बाध्यतामा छ । गाउँका रहेका धाराहरु प्रयोगविहीन भएकाले छिट्टै पानीको व्यवस्था गर्नुपर्ने गाउँवासीको माग छ ।

शौचालय निरीक्षणमा तीनघरे पुगेका सेवक नेपाल तथा जनहित ग्रामीण सेवा समितिका संयोजक राजेन्द्र शर्माले तीनघरेमा पानीकै समस्याका कारण चर्पी बन्न नसकेको बताए ।

“खानेपानीसँग समन्वय गरेर भएपनि पाइपको बन्दोबस्त गर्ने सोचमा छौं,” संयोजक शर्माले भने– “पानीका लागि पाइप उपलब्ध नगराए शौचालय नबनाउने भनेकाले पाइपको व्यवस्था गरिदिने भएका छौँ ।” रासस

 

तपाइँको प्रतिक्रिया ।