विप्लव माओवादीको पहलमा फेरि अर्को चार दलीय मोर्चा बन्यो

विप्लव माओवादीको पहलमा फेरि अर्को चार दलीय मोर्चा बन्यो

काठमाडौं, २७ फागुन । देशमा बढ्दो भ्रष्टाचार, महंगी, कालोबजारी, कमिसनखोरीका विरुद्ध संघर्ष गर्नका लागि नेकपा माओवादीले साझा मोर्चा बनाएको छ ।
राष्ट्रियताको रक्षा गर्न तथा जनजीविकाका लगायतका सवालमा सहमति जनाउने सबै राजनीतिक दलका प्रतिनिधिहरुलाई एउटै मञ्चमा समेट्ने गरी यो मोर्चा गठन गरिएको बताइएको छ ।

netra-bikram-chand2
मोर्चाले फागुन २६ गते राजधानीमा गोप्य रुपमा राष्ट्रिय भेला समेत सम्पन्न गरेको छ । भेलाले मोर्चाको विधान र समसामयिक राजनीति, देशको अवस्था र मोर्चाको लक्ष्य उद्देश्य समेटिएको राजनैतिक प्रतिवेदन समेत पारित गरेको छ । गोप्य रुपमा सम्पन्न गरिएको भेलाका निर्णयहरु सार्वजनिक गर्न २७ गते बुधबार राजधानीको अनामनगरस्थित संवाद डवलीमा पत्रकार सम्मेलन समेत सम्पन्न गरिएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मोर्चाको अध्यक्षमा तिलक परियार अध्यक्ष रहेका छन् । त्यसैगरी शंकर खड्का उपाध्यक्ष, खुमा सुवेदी महासचिव, रामकुमार राई र विरबहादुर केसी सचिव र गौरी नारायण मण्डल मोर्चाको कोषाध्यक्ष चयन गरिएका छन् । साथै मोर्चाको केन्द्रीय कार्यसमिति ४५ सदस्यीय बनाइएको छ । मोर्चामा अहिले चार वटा पार्टीको प्रतिनिधित्व रहेको बताइएको छ ।
मोर्चाले चैत १० गतेदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु सुरु गर्ने जानकारी दिएको छ । मोर्चाले राष्ट्रियता जनतन्त्र, जनजीवीकाका सवालमा चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा अध्यक्ष तिलक परियारले जानकारी दिए । पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्ती अनुसार देशमा व्याप्त महंगी, भ्रष्टाचार, कालोबजारी, राष्ट्रघात, जनघात, कमिसनतन्त्र महिलामाथि देशव्यापी भइरहेका बलात्कार तथा अन्य हिंसा लगायतका विषयमा प्रधानमन्त्री सुशिल कोइरालालाई ज्ञापन पत्र बुझाउने बताइएको छ । त्यसैगरी मोर्चाले चैत १८ गतेका दिन अन्तराष्ट्रिय कानुन विपरित भारतले पूर्वदेखि पश्चिमसम्मको तराई मधेशको भूभाग डुवान हुने गरी नेपाल भारत सीमाको आठ किलोमिटर भित्र बनाएको उच्च सडक निर्माणका विरुद्धमा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने जनाएको छ ।
त्यस्तै चैत २४ गते राष्ट्रिता, जनतन्त्र र जनजिविकाका सवाललाई लिएर बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय पनि मोर्चाले गरेको छ । मोर्चाले बारा जिल्लामा बलत्कार गरी उपचारको क्रममा निधन भएकी बालिका पुजा साहका बलत्कारी, काठमाडौंको वसन्तपुरमा दुई जना छात्रामाथि एसिड आक्रमण गरी घाइते बनाउने अपराधी र देशभर महिलाहरुमाथि भइरहेका बलत्कार लगायत घरेलु हिंसाका दोषीहरुलाई कडाभन्दा कडा कारवाही गर्न पनि मोर्चाले माग गरेको छ । त्यसैगरी शिक्षक, विद्यालय कर्मचारी, विभिन्न औद्योगिक प्रतिष्ठानका मजदुरहरुका समस्याहरुलाई तत्काल सम्वोधन गर्न पनि मोर्चाले सरकारसँग माग गरेको छ ।

तपाइँको प्रतिक्रिया ।