चिसोले कठ्यांग्रिएका लागि १००० वटा कम्बल बाँडे तेज रोक्काले

चिसोले कठ्यांग्रिएका लागि १००० वटा कम्बल बाँडे तेज रोक्काले

IMG_8028

 

कपन अनलाइन\माघ ११, २०७१
हरेक वर्ष नेपालको तराई क्षेत्रमा शितलहरका कारण जनजीवन प्रभावित हुने गर्दछ । चिसोका कारण कतिपयले ज्यान पनि गुमाउने गरेका छन् । विशेष गरेर तराईका विपन्न वर्गमा चिसोको प्रभाव बढि हुने गरेको छ । मध्य तराईका पर्सादेखि सप्तरीसम्मको इलाका हरेक वर्ष चिसोका कारण प्रभावित हुने जिल्लाहरुमा अग्रणी रुपमा चिनिइने गर्दछन् । त्यसो त पश्चिम र पूर्वि तराइमा पनि चिसोले जनजीवनलाई कष्टकर बनाउने गर्दछ । यस वर्ष पनि मंसिरको अन्तिम हप्तादेखि माघका पहिला हप्तासम्ममा करिब १० जनाले तराईको चिसोको कारण मृत्यूवरण गरे ।
सरकारी बिभिन्न निकायले प्रभावितलाई चिसोबाट बचाउन गरिने प्रयास खासै प्रभावकारी बन्न नसकेको अवस्थामा कतिपय संघसंस्था तथा समाजसेवी व्यक्तिहरुले पनि सहयोगी हातहरु बढाइरहेका हुन्छन् । यसै क्रममा कपन निवासी तेज रोक्काले माघको पहिलो हप्ता सर्लाही र सप्तरीका शितलहर पिडित विपन्न वर्गहरुलाई १००० वटा कम्बल वितरण गरेका छन् । समाजसेवाको बिभिन्न क्षेत्रमा क्रियाशिल रोक्काले सर्लाही जिल्लाको नेत्रगंज तथा जब्दी गाविसका ६०० जना विपन्न तथा दलित वर्गलाई कम्बल वितरण गरे । करिब ५०० रुपैंया बराबरको एउटा कम्बलका साथमा उनले करिब २०० रुपैंया बराबारको कापी कलमसहितको स्टेस्नरी प्याक पनि ती दुबै ठाउँका बालबालिकाहरुलाई वितरण गरे ।
तराईका शितलहर पिडित क्षेत्र रुपमा चिनिइने सर्लाहीको नेत्रगंजमा रहेको पद्मभुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा रहेको करिब ३० बृद्धबृद्धाहरुलाई पनि रोक्काले कम्बल वितरण गरे । सर्लाहीसँगै उनले सप्तरीको महुवा गाउँका करिब ३०० चिसो पिडित विपन्नहरुलाई पनि कम्बल बाँडे । साथै उनले मौहवामा पनि ३०० बालबालिकालाई उनले स्टेस्नरीको प्याक वितरण गरेका थिए । हरेक वर्ष आफूले कमाएको दश प्रतिशत समाजसेवामा प्रयोग गर्दै आएका समाजसेवी रोक्काले यस अघि कपनमा साहित्यिक कार्यक्रम कसारलाई करिब २३ हजार रुपैंयाको साउण्ड सिस्टम प्रदान गरेका थिए ।

IMG_8038 IMG_8028 IMG_8025 IMG_8062 IMG_8040 IMG_8030

तपाइँको प्रतिक्रिया ।