विवेकशील नेपालीले माघ ८ मै संविधानको नयाँ ढाँचा घोषणा गर्यो

कपन अनलाइन\माघ ८, २०७१

संविधानसभाबाट माघ ८ मा संविधान जारी नभए पनि विवेकशील नेपालीले भने बिहीबारै प्रस्तावित संविधानको ढाँचा बाहिर ल्याएको छ । विभिन्न पेशासँग संलग्न बुद्धिजिवी एवं पेशाकर्मीहरूको सहयोगमा निर्मित संविधानको मस्यौदा सार्वजनिक गरिएको थियो । अघिल्लो संविधानसभा चुनावमा कुकुर चिह्न लिएर केही निर्वाचन क्षेत्रमा मात्र प्रतिनिधी उठाएको विवेकशील नेपालीले समयमै आफूले चाहेको संविधानको मस्यौदा तयार पारेको हो । लगातार ३० हप्तादेखि हरेक शुक्रबार संविधानसभा भवन अगाडि र सभासद्हरूलाई व्यक्तिगत दबाब दिँदै आएको समूहले तयार पारेको खाका माघ ८ कै साइत पारेर सार्वजनिक गरिएको छ । ‘समयसापेक्ष सुधारमुखी नेपालको संविधान २०७१ (प्रस्तावित)’ नाम दिइएको उक्त संविधानको मस्यौदालाई गल्ली गल्ली, घर घरमा पु¥याइ राय लिने क्रम जारी रहेको विवेकशील निकट राम तपस्या साहले कपन अनलाइनलाई बताए ।

 

चक्रपथमा रहेको कार्यालयबाट लिन सकिने मस्यौदालाई इन्टरनेटको पहुँचमा हुनेले सिधै वेवसाइटबाट पनि डाउनलोड गर्न सक्ने व्यवस्था रहेको विवेकशीलमा आबद्ध गोविन्द नारायणले जानकारी दिए । सरकारको स्वरूप, शासकीय स्वरूप, प्रदेशको संरचना एवं नामांकन, समान अधिकारको आधार लगायत सबै विषयवस्तु समेटिएको संविधानको मस्यौदा तयार पार्न विज्ञहरूको सहयोग लिइएको विवेकशीलका प्रमुख उज्जवल थापाले बताए ।

तपाइँको प्रतिक्रिया ।