कांग्रेस र एमालेको संयुक्त सरकारको आवश्यक्ता

कपन अनलाइनसम्पादकीय
केही अनपेक्षित देखिए पनि चुनावी परिणामपश्चात देश नयाँ सरकारको गठनतिर बढिरहेको छ । निर्वाचन अघि नै कांग्रेस सम्भावित ठूलो पार्टी भनिएझैं चुनावी परिणामले नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाएको छ भने कांग्रेसको करिब करिब हाराहारीमा एमाले दोस्रो पार्टी बनेको छ । केही वर्षदेखि सरकार बनाउने प्रकृयाको कांग्रेस एमालेको कुरा मिल्न नसके पनि संबिधान बिभिन्न पक्षहरुका बारेमा करिब ९० प्रतिशत कुरा मिलेको देखिन्छ । १ वर्षभित्र संबिधान निर्माण गर्ने भनेर यी दुई दलले आफ्नो घोषण पत्रमा सार्वजनिक गरेको अवस्थामा आएको चुनावी नतिजाले यी दुई पार्टीलाई संबिधान बनाउन भनेर जनताले अभिमत प्रकट गरेका छन् । कांग्रेस र एमालेको सिट संख्या जोड्दा दुई तिहाइ बहुमतभन्दा बढि सिट हुने भएकोले संबिधान बन्ने कुरामा जनता तथा स्वयम् ती दलहरुका नेताहरुले आत्मविश्वास देखाएको अवस्थामा यी दुवै दलले सरकार बनाएको खण्डमा संभाबित संबिधान निर्माण प्रकृया चाँडो सकिने विश्लेषकहरु बताउँछन् ।

 
रुपमा एमालेलाई कम्युनिस्ट पार्टी मात्र देखिए पनि सारमा यो पार्टी एक समाजवादी पार्टीको रुपमा रुपान्तरित भएको देखिन्छ । नेपाली कांग्रेस पनि आफूलाई समाजवादी पार्टी भनेर चिनाइरहेको अवस्थामा यिनीहरुको मेल हुने कुरामा जनता पनि आशावादी रहेको निर्वाचनको परिणामले देखाएको छ । कांग्रेस र एमालेको धेरै कुराहरु मिल्न सक्ने देखिएको अवस्थामा नेताहरुको व्यक्तिगत इगोलाई त्याग्ने हो भने १ वर्षमा संबिधानमात्र हैन नेपालको इतिहासमा सबैभन्दा लामो समय चलेको सरकार बन्न पनि यी दलहरु सक्षम हुने देखिन्छ । कांग्रेस र एमाले मिलेर सरकार बनाएको खण्डमा १ वर्षमा सम्बिधानको साथै चार वर्ष लगातर एउटै सरकारले रहनु भनेको विकासको पूर्वाधार विकास गर्ने नेपालले पाएको सुवर्ण अवसर हो यो ।

 
यद्यपि पार्टी ठूलो सानो हुनुसँग भन्दा पनि चरित्रको हिसाबले हिजोका दिनका व्यक्तिहरु अहिले पनि यी पार्टीहरुमा हावी छन् । पदलोलुपताले गाँजेको हाम्रो प्रणालीमा नेपाली कांग्रेस वा नेकपा एमालेले साना दलहरुसँग मिलेर सरकार बनाउने भन्ने निर्णयमा पुगे भने न यो देशमा संबिधान बन्ला न लामो समय टिक्ने सरकार । फलतः देशको भविष्य फेरि पनि अनिश्चितताभित्र रुमल्लिने बाहेक अरु केही हुनेवाला छैन । समयमै पार्टीका नेतृत्वहरुले यो विषयलाई मनन गरेर देश तथा जनताको समुन्नत भविष्यको पक्षमा आफ्ना निर्णय गरुन् ।

 

-केशव पाठक

सम्पादक

तपाइँको प्रतिक्रिया ।