कृषिमा विदेशी लगानी भित्र्याउने तयारीको विरोध

कपन अनलाइन, काठमाडौँ, २४ मङ्सिर ।

अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय समितिको तेस्रो पूर्ण बैठकले कृषिमा निर्वाध विदेशी लगानी भित्र्याउने गरी कानुन ल्याउने तयारीको विरोध गरेको छ ।

उद्योग मन्त्रालयले विदेशी लगानीसम्बन्धी कानुन (एफडिआइ)को मस्यौदा तयार गरेकामा महासङ्घले आपत्ति गरेको हो । महासङ्घका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा यही मङ्सिर २२ र २३ गते काठमाडौँमा सम्पन्न बैठकले सरकारले ल्याएको दीर्घकालीन कृषि रणनीतिमा प्राथमिक उत्पादनमा विदेशी लगानीलाई निषेध गरेको तर एफडिआइले त्यसविपरीतका कानुन तय गरेकाले विरोध गरिएको महासचिव बलराम बास्कोटाले बताउनुभयो ।

“विदेशीले नेपालमा आएर सोझै जग्गा किन्न सक्ने, जस्तोसुकै उद्योग पनि स्थापना गर्नसक्ने, त्यसबापत सरकारले अनुदान दिने र कर पनि तिर्नुनपर्नेजस्ता प्रावधान राखेबाट देशका अन्य क्षेत्रमा झैँ कृषि क्षेत्रमा त्यसले दूरगामी असर राख्छ”– महासङ्घको विज्ञप्तिमा भनिएको छ– “त्यसबाट नेपालको राष्ट्रियतामा आँच पुग्ने भएकाले सो कानुन व्यवस्थापिका–संसद्बाट पारित हुन नदिने भूमिकाका लागि महासङ्घ अग्रसर हुनेछ ।”

बैठकले एमालेले सञ्चालन गरेको ‘संविधान कार्यान्वयनका लागि चारमहिने अभियान’ मा सहभागी हुँदै सङ्गठनव्यापी रुपमा उक्त अभियानलाई प्रभावकारी बनाउने र संविधान संशोधन विधेयक विरोधी आन्दोलनमा ऐक्यबद्धता जनाउने पनि निर्णय गरेको छ । रासस

तपाइँको प्रतिक्रिया ।