टहरामै चिसो काट्दै भूकम्पपीडित

टहरामै चिसो काट्दै भूकम्पपीडित

कपन अनलाइन, मेलम्ची, २४ मङ्सिर ।

स्थायी आवास पुनःनिर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदानले घर बन्न नसक्दा यस वर्षपनि भूकम्पपीडितले टहारामा चिसो काट्न बाध्य छन् ।

आवस निर्माणका लागि सरकारले पहिलो किस्ता स्वरुप उपलब्ध गराएको रु ५० हजारले घर बनाउन नपुग्ने हुँदा सिन्धुपाल्चोकका अधिकांश भूकम्पपीडित टहारोमा बास बस्दै आएका छन् ।

आर्थिकस्थिति बलियो हुनेले सरकारको अनुदानबाहेक आफ्नै खर्च गरेर भएपनि घर बनाएका छन् तर न्यून आर्थिक अवस्था भएका भूकम्पपीडितले अझै पनि सरकारको अनुदान पर्खाइमा छन् ।

पहिलो किस्ताको रकमले जग निर्माण गर्नसमेत पर्याप्त नहुने पीडितको गुनासो छ । दसैँका समयमा अनुदानको पहिलो किस्ता रकम दिएकाले कतिपयले त्यो रकम दसैँ मनाउन खर्च गर्ने भएकालेसमेत आवास निर्माण हुन नसकेको बताएका छन् ।
जिल्लाको हेलम्बु, गुन्सा, गुम्बा, सेलाङलगायतका अति विकटका गाविसका भूकम्पपीडित भने हिँउको चिसो र चिसोबाट हुने निमोनिया लगायतका रोग झेल्दै आएका छन् । तर स्थायी आवास निर्माणका लागि उनीहरुसंग आवश्यकपर्ने रकम नभएकाले पुनःनिर्माण हुन नसकेको हेलम्बुका साङ्गे ह्यल्मो बताउनुहुन्छ ।

सरकारले उपलब्ध गराएको पहिलो किस्ता वापत रु. ५० हजारबाट घरको जग समेत खन्न नसकिने गुन्सो सो गाविसका काले गोलेले बताउनुहुन्छ ।

त्यस्तै किउल गाविसको शेर्माथाङमा पनि यस्तै समस्या खेप्नुपरेको स्थानीय बताउँछन् । भूकम्पपछि टहराको कष्टकरजीवन गुर्जादै आएका ह्यल्मोबासीको बाहुल्यता रहेको उक्त गाउँका बासिन्दा अहिले पनि टहरोमा नै छन् । रु. ५० हजारले घरको निर्माण प्रक्रियामा नै खर्च हुने हुँदा के गर्ने नगर्ने भन्ने कुराको अन्योलमा स्थानीय रहेको दाबी समाजसेवी कर्मलोप्के लामा ह्याल्मोको छ ।

चिसो बढ्दै जादाँ टिनको छानोमा बस्नुपर्ने बाध्यताका कारण उनीहरु निमोनियाको सिकार समेत बन्दै गएका छन् । चिसोेबाट सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेका छन् ।
भूकम्पको १९ महिना बित्नै लाग्दासमेत सरकारले पीडितका लागि उपयुक्त कदम चाल्न नसकेकोमा चिन्तित छन् ।
सरकारको अनुदानबाट आवास निर्माण गर्न नसकिने भएपछि अहिले जिल्लाको विभिन्न गाविसका भूकम्पपीडितले ऋण गरेरै भए पनि दिनरात खटेर भूकम्प प्रतिरोधात्मक घर बनाउन लागि परेको मेलम्ची नगर विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।