अन्तर्राष्ट्रिय हात्तीपोलो’ चितवनमा फेरि सुरु हुँदै

अन्तर्राष्ट्रिय हात्तीपोलो’ चितवनमा फेरि सुरु हुँदै

कपन अनलाइन, चितवन (रत्ननगर), २४ मङ्सिर ।

विगत सात वर्षदेखि स्थगित अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता यसवर्ष रत्ननगरको सौराहामा पुनः खेलाइने भएको छ ।

हात्तीमाथि मान्छे बसेर लट्ठीको सहायतामा पोलो बललाई गोलपोस्टमा छिराएर खेलिने यो रोमाञ्चक खेल हो । विसं २०६७ मा निकुञ्जभित्रको होटल टाइगरटप्स हटे पछि चितवनमा हात्तीपोलो खेल रोकिएको थियो ।

पछिल्ला वर्षहरुमा नवलपरासी र बर्दियामा सो खेल खेलाउँदै आए पनि चितवनमा भने स्थगित भएको थियो ।

यो वर्ष सौराहास्थित क्षेत्रीय होटल सङ्घले संस्थागत रुपमा हात्तीपोलोलाई निरन्तरता दिन लागेको हो । दुई समूहमा चार–चारवटा हात्ती सहभागी गराएर खेलाइने खेल दश–दश मिनेटको हुन्छ ।

यही पुस ११ देखि १५ गतेसम्म आयोजना हुने चितवन हात्ती महोत्सवको थप आकर्षणको रुपमा हात्तीपोलो प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक शङ्कर शैँजुले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पोलोका लागि आठवटा हात्तीलाई प्रशिक्षण दिन थालिएको छ ।

पर्यटन विकासमा महत्वपूर्ण टेवा दिँदै आएको हात्तीपोलोको निरन्तरताले व्यवसायीमा उत्साह थपिएको छ ।

पोलो खेलका लागि स्टिक बनाउने, बल ल्याउने र हात्तीलाई सिकाउने क्रम तीनदिनदेखि भइरहेको क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले बताउनुभयो ।

यसवर्ष हात्तीको छिटो हिँडाइ खेललाई परिमार्जन गरेर कर्यक्रम गर्न लागिएको र महोत्सवको तयारीमा सबै जुटेको सङ्घका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।

सन् १९८१ देखि पश्चिम चितवनका मेघौलीमा हुँदै आएकोे योे खेल यो पुनः सातवर्ष पछि खेलाउन लागिएको हो ।

महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय नियमअनुसार नै खेल खेलाइने खेलमा हात्तीको हिँडाइ, गाडा, डुङ्गा तथा टाँगा दौड, हात्ती सुन्दरी प्रतियोगिता र हात्तीका छावा बीचमा रोमाञ्चक खेल समाबेश छन् । यो मौसममा पर्यटक आ–आफ्नो घर फर्कने भएकाले त्यसलाई रोक्न १२ वर्षअघिबाट हात्ती दौडका रुपमा आयोजना गरिएको यो खेललाई चितवन हात्ती महोत्सवमा समेटिएको हो । रासस

तपाइँको प्रतिक्रिया ।