विष्णुदेवीको मन्दिरमा भक्तजनको भीड

विष्णुदेवीको मन्दिरमा भक्तजनको भीड

कपन अनलाइन, काठमाडौँ, २४ मङ्सिर ।

काठमाडौँको दक्षिणभेगस्थित सतुङ्गलमा रहेको विष्णुदेवीको मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष मङ्सिर शुक्ल दशमीका दिन भात चढाउन भक्तजनको भीड लाग्ने गर्दछ । सप्तमीका दिन त्यस क्षेत्रमा दिइएको बलिबाट बनेका विभिन्न परिकारसमेत आज विष्णुदेवीलाई चढाउने गरिन्छ । भक्तजनले घरघरमा भात पकाएर मन्दिरमा लगेर चढाउँदा घरमा अनिकाल नहुने जनविश्वास छ ।

मानिसलाई सत्कर्ममा लाग्न ऊर्जा प्रदान गर्ने विष्णुदेवीलाई शक्तिको प्रतीकका रूपमा पूजा गरिँदै आएको छ । अष्टमीका दिनदेखि सुरु भएर मङ्सिर शुक्ल द्वादशीसम्म जारी रहने देवीको जात्रामा सहभागी भएमा पापक्षय भई पारिवारिक सुख, समृद्धि प्राप्त हुने विश्वास रहेको स्थानीयवासी देवेन्द्र प्रधानले जानकारी दिनुभयो । मन्दिरमा स्थानीय भेगका भक्तजनको उल्लेख्य सहभागिता देख्न पाइन्छ ।

सोही जात्राअन्तर्गत नवमीका दिन विष्णुदेवीको मूर्तिलाई खटजात्रा तथा स्थानीय वैष्णवी देवीको मन्दिरमा लगेर विधिविधानपूर्वक पूजा गराइएको थियो । विशेष बाजागाजासहित खटजात्रा निकालिएको थियो ।

नगरपालिकाका प्रमुख कृष्णप्रसाद जैसीले काठमाडौँ उपत्यकाभित्र पस्ने सो नगरपालिका भित्रका परम्परागत जात्रा, पर्व तथा संस्कृति संरक्षणका लागि नगरपालिकाले सक्दो भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले त्यस क्षेत्रका अन्य जात्रा तथा बाजागाजा संरक्षणका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । रासस

तपाइँको प्रतिक्रिया ।