विपी स्मृति क्रिकेटको उपाधि देहिमाडौँलाई

कपन अनलाइन, बैतडी,२१ मङ्सिर ।

बैतडीमा जारी विपी स्मृति टिट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि निङ्लाशैनी क्रिकेट क्लब देहिमान्डौँले हात पारेको छ ।

आज सम्पन्न फाइनलमा कालाशैनी क्रिकेट क्लब बुड्डालाई १४ रनले पराजित गर्दै देहिमाडौँले उपाधि जितेको हो ।

निङ्लाशैनी खेलमैदान देहिमाण्डौँमा टस जितेर पहिले ब्याटिङ गरेको देहिमान्डौँले १९ दशमलव ४ ओभरमा ११० रनमा समेटिएको थियो । देहिमान्डौँका विनोद बोहराले २७, रोहन बाहराले २०, खड्क बोहराले १२ तथा दीपक बोहराले १० रन बनाएका थिए ।

कालाशैनीका जगदिश चन्दले तीन, सुभास चन्द र निरज चन्दले दुई÷दुई विकेट हात पारेका थिए । १११ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको कालाशैनी १९ दशमलव ३ ओभरमा ९६ रनमा समेटियो । सन्तोस चन्दले २३ तथा निरज चन्दले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

कालाशैनीको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द फाइनल भएका दिपेन्द्र बोहराले चार ओभर बलिङ गर्दै ३ ओभर मेडन राख्दै एक रन खर्चेर चार विकेट हात पारेका थिए । त्यस्तै वसन्त बोहरा, ऋषिकेश बोहरा र महेस नाथले समान दुई÷दुई विकेट हात पारेका थिए ।

उपाधीसँगै देहिमान्डौँले रु ५० हजार ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेता कालाशैनीले रु २५ हजार नगद ट्रफी र प्रमाणपत्र पाएको छ ।

विजतेलाई निलम्बित नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, विपी चिन्तन प्रतिष्ठान बैतडीका अध्यक्ष शिवराज भट्टलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

राससकर्मी विष्ट सम्मानित

यसैबीच क्रिकेटको विकासमा लागि कलम चलाएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विनोदसिंह विष्ट सम्मानित भएका छन् ।

बैतडी जिल्ला क्रिकेट सङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले संयुक्तरुपमा आज राससकर्मी विष्टलाई रु पाँच हजार राशिसहित दोसल्ला र प्रसंसापत्रसहित सम्मान गरेको हो ।

विष्ट रासस बैतडी समाचारदाताका रुपमा विगत दुई वर्षदेखि कार्यरत हुनुहुन्छ । रासस

तपाइँको प्रतिक्रिया ।