बद्रि खड्काले माइन्यूट बुक लुटेर हिँडेपछि बुनपा १३ को नागरिक वडा मञ्च गठन हुन सकेन

बद्रि खड्काले माइन्यूट बुक लुटेर हिँडेपछि बुनपा १३ को नागरिक वडा मञ्च गठन हुन सकेन

कपन अनलाइन, २० मंसिर, २०७३

bunpa
बुढानिलकण्ठ नगरपालिका अन्तर्गत वडा नम्बर १३ को नागरिक वडा मञ्चको चुनावी प्रकृया चलिरहँदा संयोजक पदका प्रत्याशी बद्रि खड्काले माईन्युट बुक जवर्जस्ती लुटेर लगेपछि गठन हुन सकेन । बुनपामा माओवादी केन्द्रका कार्यकर्ताको रुपमा परिचित खड्काले माईन्युट बुक लुटेर मोटरसाईकलको पछाडी बसेर हिँडेपछि गठन प्रकृया रोकिएको हो ।

खड्काले यसरी माइन्युट बोकेर हिँडेपछि संयुक्त वडा सचिव मुकुन्द खड्काले पुलिसमा जाहेरी गरेपछि प्रहरीले माइन्युट खोजतलास गरेको थियो । कपन प्रहरी प्रभागका निरीक्षक फणिन्द्र रानाभाटका अनुसार अहिले सो माइन्युट प्रहरी कार्यालयमा रहेको छ । आज बिहान १० बजेपछि राजनीतिक दल तथा वडा सचिवको रोहवरमा हस्तान्तरण गरिने बताएका छन् । सरकारी माइन्युट यसरी बोकेर हिँड्नु गैरकानुनी भएकाले यो विषय गाउँठाउँमै मिलाउन प्रयास हुने निरीक्षक रानाभाटले बताए । उनका अनुसार माइन्युट बोकेर जाने पक्षले भावावेशमा गल्ति हुन पुगेको भन्दै माफी मागेको बताएका छन् ।

वडा नागरीक मञ्चको गठन हुने क्रममा राप्रपाले यसअघि दिएको नाममा राप्रपाका आइते लामाले अन्तिम अवस्थामा नयाँ नाम दिएपछि विवाद निम्तिएको बताइएको। भर्खर दुई राप्रपा एक भएको अवस्थामा आन्तरिक समस्यामा रुमल्लिएको राप्रपाले यसअघि पठाएका व्यक्तिहरुका ठाउँमा नयाँ मानिस आएपछि माओवादी केन्द्रले बिरोध गरेको थियो। एमाओवादी बुनपा संयोजक रविन अधिकारीले प्रकृयागत समस्याले उब्जिएकोले यो घटना नचाहेर हुन गएको बताएका छन् । अधिकारीले बालबालिकाको कोटामा बालबालिका देखाउ भन्दा वडा सचिवले देखाउन नसकेको पनि बताए । अधिकारीले नगरका सहजीकरण समितिका सदस्यहरुसहित वडा सचिव चिया खान गएको बेला निर्वाचन प्रकृया सुरु गरेकाले माइन्यूट बोकेर हिँडेको हो । लुटेको भन्ने कुरा गलत भएको उनले भने । यस्ता समितिहरु गठन हुँदा हात हालाहाल हुने, माइन्युट च्यातिने कुरा हाम्रो समाजमा भैरहेको बताउँदै अधिकारीले गलत प्रकृयाको बिरोध गर्दै सो माइन्युट प्रहरीमा बुझाइएको बताए । गलत प्रकृयाले निर्वाचन नहोस् भनेर रोकिएको मात्र हो यसलाई लुटेर लगेको भनेर गलत व्याख्या नगरिदिन अनुरोध पनि गरे ।

पटक पटक स्थगित भएर बन्न नसकेको १३ नं वडाको नागरिक वडा मञ्च गठनका लागि हिजो मंसिर १९ गतेलाई वडा कार्यालयले सम्बन्धित सबैलाई बोलाएको थियो । यस अघि कपनका वडा नं १२, १८ र १९ सहित बुनपाको प्रायः सबै वडामा चुनावी प्रकृयाबाट नागरिक वडा मञ्चको संयोजक र सहसंयोजक चयन भैसकेको अवस्थामा एकाएक माओवादीका संयोजक पदका प्रत्याशीले माइन्युट बोकेर हिँडेकोमा धेरैले अर्थहिन र आफ्नो खुट्टामा आफैले बन्चरो हानेको बताएका छन् । बुनपाको सहजीकरण समितिका राजाराम बुढाथोकी र बिदुरविक्रम खड्काले यो प्रकृया अलि गुण्डागर्दी टाइपको भएको बताए । उनीहरुले विमती राख्ने बिभिन्न व्यवस्थाहरु छन् तर विमतीको नाममा माइन्युट लुट्ने वा च्यात्ने काम ठीक नभएको बताए । यद्यपि यी दुवैजनाले समस्याको केन्द्र राप्रपाका आइते लामाले एक्कासी नयाँ मानिस थपेकोले नै बढेको बताएका छन् ।

वडा कार्यलयमा भैरहेको गठन प्रकृयामा उपस्थित नेकपा(एमाले) का क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेले भने वडा नं १२, १८ र १९ मा चाहिँ मापदण्ड नचाहिने तर वडा नं १३ मा चाहिँ मापदण्ड खोज्ने हो भने अन्य वडाको गठन गरिएको नागरिक वडा मञ्चहरू पनि खारेज हुनुपर्छ र निर्दे्शिका अनुसार नै गठन हुनुपर्दछ ।

यसैबीच आइते लामाले एक्कासी आफ्ना मानिस हालेकोमा राप्रपा बुनपा कमिटिसमेत खुशी नभएको बताइएको छ । विश्वस्तसुत्रका अनुसार आइते लामाले एक्कासी नागरीक वडा मन्चमा राख्न लगेका मानिसहरु एमालेलाई संयोजक पदमा जिताउने मानिस भएकाले राप्रपाको कोटामा एमाले आए भनेर पनि माओवादी केन्द्रले बिरोध गरेको बताइएको छ । यो बिरोधमा नेपाली कांग्रेसको पनि सहभागिता रहेको बताइन्छ ।

बद्री खड्काले माईन्युट बोकेर हिडेपछि वडा कार्यालयले प्रहरी गुहारेको थियो । वडा कार्यालयले प्रहरी कार्यालयमा माईन्युट लुट्ने खड्काको विरूद्धमा निवेदन दिएको छ । उजुरी परेकाले अब यो विषय प्रहरी कार्यालयमा गएर मात्र मिल्ने अवस्थमा पुगेको छ । पार्टीगत भागवण्डाको आधारमा बन्ने गरेको वडा नागरिक मन्चमा पछिल्ला केही वडाहरुको गठन हुँदा नेका, माओवादी र राप्रपा मिलेर हिँडेको अवस्थामा राप्रपाको नाममा आइते लामाले एमालेका मानिस नागरीक वडा मन्चमा लगेपछि समस्या उत्पन्न भएको बताइएको छ । निर्वाचन भएको भए एमालेले जित्ने पक्का भएपछि बद्रि खड्काले माइन्यूट लुटेर हिँडेको बताइएको छ । वडा नं. १३ को संयोजकमा माओवादीका खड्का संयोजक हुने गरी नेका र माओवादी र राप्रपाको सहमति रहेको थियो । यसअघि कपनका तीनवटा वडामा यसै सहमति अनुसार वडा नागरीक मन्च गठन भएको थियो । यो गठबन्धनसँग नेकपा (एमाले), नेकपा (माओवादी) र नयाँ शक्तिको गठबन्धनले पराजित भएको थियो ।

यसैबीच एमालेको स्थानीय नेता मिठाराम अधिकारीले बुनपामा वडा नागरीक मन्च गठनको प्रकृयमा पार्टीका महत्वपूर्ण सदस्यहरु सहभागि भएको भन्दै निर्देशिका विपरित काम भएको बताएका छन् । पार्टीको लेटरप्याडमा मेरो पार्टीका फलानो फलानो मानिसलाई वडा नागरीक मन्चमा राखिदिन पत्र आएको विषय आपत्तिजन भएको बताउँदै उनले यो विषयलाई अदालतमा लैजाने धम्की दिएको एक सहभागिले बताए । वडा नं. १३, १४, १८ र १९ को संयुक्त कार्यालयमा रहेको नागरीक वडा मन्चको निदेशिका उनले लिएर अब यो विषय अदालतमा पुग्छ भन्दै हिँडेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।