बालमैत्री नगर कार्यान्वयनमा आङ्का

कपन अनलाइन, नेपालगन्ज, १५ मङ्सिर ।

नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने अभियान प्रारम्भ गरिए पनि तथ्याङ्क अद्यावधिक नहुँदा कार्यान्वयनमा आङ्का पैदा भएको छ ।

बाँके जिल्लालाई बालश्रमिक मुक्त जिल्ला घोषणा गरिए पनि करिब तीन हजारभन्दा बढी बालबालिका अहिले पनि उपमहानगरपालिकामा बाल श्रमिकका रुपमा कार्यरत रहेको पाइएकाले सो अभियानले मूर्तरुप लिन कठिन भएको हो ।

नौ वर्ष अघि (सन् २००७ नोभेम्बर २० मा) जिल्ला बाल कल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बालश्रमिक मुक्त जिल्ला’ घोषणा गरे पनि अभैm अधिक सङ्ख्याका बालबालिका श्रममा लागेकाले सम्बद्ध निकायको काम गर्ने शैलीप्रति यहाँ प्रश्न उठ्न थालेको छ ।

कुल २८ वडा रहेको यस नगरपालिकालाई आगामी सन् २०१७ सम्म बालमैत्री नगर घोषणा गर्न ३९ वटा सूचक तयार गरी कार्यक्रम सञ्चालनमा ल्याइए पनि कार्यान्वयनमा आएको शिथलताले निर्धारित समयमा बालमैत्री नगर घोषणा हुनेमा आशङ्का व्यक्त गरिएको हो ।

“सात वर्षसम्म जिल्लाका बालश्रमिकको तथ्याङ्क अद्यावधिक गर्न सकिएको छैन, यस्तो अवस्थामा कसरी यस नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न सकिन्छ ?– नगरस्तरीय बाल क्लबका अध्यक्ष साहिल अन्सारीको प्रश्न छ ।

सात वर्ष पुरानो सो तथ्याङ्क अनुसार, बाँके जिल्लामा हाल नौ वर्षमुनिका पाँच, १० देखि १४ वर्षका ६० प्रतिशत र १४ देखि १७ वर्षका ४० प्रतिशतभन्दा बढी बालबालिका बालश्रमिकका रुपमा कार्यरत छन् ।

समितिको बैठक छिट्टै बस्ने र जिल्लामा बालश्रमिकको अवस्थाका विषयमा अनुगमन गरेर तथ्याङ्क अद्यावधिक गरिने प्रक्रिया अगाडि बढाइएको बाँकेका प्रमुखजिल्ला अधिकारी एवम् समितिका संयोजक रविलाल पन्थको भनाइ छ ।

“हामीले बालमैत्री नगरपालिका घोषणा गर्न सबैको सहयोग खोजेका छौँ, नगरपालिका एक्लैले मात्र गर्न सक्ने विषय यो होइन, हामीले त अगुवाइ मात्र गर्ने हो, यो सबैको साझा सवाल बन्नुपर्छ”–नगरपालिकाअन्तर्गतको सामाजिक विकास केन्द्रका प्रमुख कृष्ण जोशी बताउनुहुन्छ । रासस

तपाइँको प्रतिक्रिया ।