ख्रिस्टमसमा बिदा कटौतीमा असहमति

कपन अनलाइन, ललितपुर, ३ कात्तिक ।

राष्ट्रिय ख्रिस्टियन महासङ्घले ख्रिस्टमसमा दिँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकोमा असहमति जाहेर गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई महासङ्घले मंगलबार बुझाएको ध्यानाकर्षण पत्रमा बिदा कटौतीको कार्यप्रति असहमति जनाउँदै सार्वजनिक बिदाका लागि पहल गरिदिन माग गरिएको छ ।

महासङ्घका अध्यक्ष सिबी गहतराजले ख्रिस्टमसका दिन पहिले दिँदै आएको सार्वजनिक बिदालाई गृह मन्त्रालयले केही वर्षदेखि इसाई कर्मचारीका लागि सीमित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै ख्रिस्टियन समुदायको आस्था र अधिकारको सम्मान गरेर ख्रिस्टमसका दिन सार्वजनिक बिदाको निर्णय गर्न पनि हामी अनुरोध गर्छौैं ।”

समाधिस्थल उपलब्ध गराउन पनि गहतराजले माग गर्नुभयो । उहाँले भन्नुभयो, “मृत्यु संस्कार गर्नबाट समेत हामी वञ्चित हुनुपर्ने अवस्था छ ।” गत असारमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्रमार्फत परियोजना सम्झौता वा पूर्वसहमति दिँदा धर्मप्रचारसम्बन्धी परियोजना अस्वीकृत गर्न निर्देशन दिएको थियो । यसले गर्दा धार्मिक आस्थामा ठेस पुगेको आयोगका अध्यक्षलाई बुझाइएको विज्ञप्तिमा भनिएको छ ।

आयोगका अध्यक्ष शर्माले दिइरहेको सार्वजनिक बिदा कटौती गर्न नहुने नै आयोगको दृष्टिकोण भएको बताउनुभयो । आयोग कार्यान्वयन गर्नेभन्दा पनि दबाब दिने निकाय भएकाले आफ्नो काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दबाब दिन्छौँ महासङ्घले ऐन बनाउने समय भएकाले सांसदहरुलाई दबाब दिनुपर्छ ।” रासस

तपाइँको प्रतिक्रिया ।