विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ ः शिक्षामन्त्री पौडेल

विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ ः शिक्षामन्त्री पौडेल

कपन अनलाइन, चितवन, १ कात्तिक ।

शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा रहेको विवाद छिट्टै टुङ्गिने बताउनुभएको छ ।

प्र्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आयोगले काम गरिरहेको र छिट्टै प्रतिवेदन आएपछि विवाद टुङ्गोमा पुग्ने बताउनुभयो ।

विश्वका विभिन्न देशमा एकै ठाउँमा दुई वटा विश्वविद्यालयका कार्यक्रम सञ्चालन भएको भन्दै उहाँले दुवै विश्वविद्यालयलाई एकै ठाउँमा सञ्चालन गर्न सक्ने विषयमा पनि अध्ययन भइरहेको उल्लेख गर्नु भयो । त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरण गर्ने वा दुवै विश्वविद्यालय एकै ठाउँमा सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको मन्त्री पौडेलले बताउनुभयो ।

यस वर्ष त्रिभुवन विश्वविद्यालयले रामपुरमा भर्ना लिने जनाएपछि दुई विश्वविद्यालयका बीचमा विवाद अझै चुलिएर गएको छ । उहाँले आउँदो शैक्षिक सत्रमा समयमै विद्यार्थी समक्ष पुस्तक पु¥याउने गरी काम भइरहेको बताउनुभयो । कक्षा १ को पुस्तक रङ्गिन गरिने र कक्षा १० को पाठ्यक्रम परिवर्तन हुने हुँदा ती दुई कक्षाका बाहेक अन्य कक्षाका पुस्तक छापिने काम भइरहेको उहाँले जानकारी दिनु भयो ।

हरेक क्षेत्रमा विश्वविद्यालय बनाउने सरकारी योजनाअनुरुप क्षेत्र नं २ मा राजर्षि जनक विश्वविद्यालय खोल्ने तयारी सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

निर्वाचनसम्बन्धी ऐन बनाउने काम द्रुत गतिमा भइरहेको र कात्तिक मसान्तभित्रमा पुनःसंरचना आयोगको प्रतिवेदन आएमा चैत महिनाभित्रमै स्थानीय निकायको निर्वाचन गर्न सकिने उहाँले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।