एमाले क्षेत्र नं. ४ को संगठन र विकास निर्माणलाई उँचो बनाउँदै डा. राजन भट्टराई

एमाले क्षेत्र नं. ४ को संगठन र विकास निर्माणलाई उँचो बनाउँदै डा. राजन भट्टराई

कपन अनलाइन, १८ असोज, २०७३/केशव पाठक

पछिल्ला केही महिनादेखि डा. राजन भट्टराई काठमाडौँ क्षेत्र नं. ४ मा निकै क्रियाशील छन् । सामाजिक सरोकार, विकास निर्माण होस् वा पार्टी संगठनका गतिबिधि उनी बोलाएपछि उपस्थित भैहाल्छन् र के गर्नु पर्ने हो त्यसप्रति सचेतरुपमा सक्रिय हुन्छन् । कुनै समय एमालेको राम्रो संगठन भएको काठमाडौँ क्षेत्र नं. ४ पछिल्ला दुई संबिधानसभा निर्वाचनमा कमजोर देखिएपछि क्षेत्र नं. ४ चावहिलकै स्थायी निवासी भट्टराई परिस्थितिलाई एमालेमय बनाउन सक्रिय छन् ।

अस्तव्यस्त बस्तीको रुपमा रहेको तत्कालिन कपन, महांकाल गाविस क्षेत्र होस् वा व्यवस्थित व्यस्तिको रुपमा रहेका कामनपा वडा नं. १, ३३ होस् डा भट्टराई पार्टी तथा विकास लागि बोलाइयो दौडिहाल्छन् । धेरैले भट्टराईको यो सक्रियतालाई भोलिको क्षेत्र नं. ४ को एमाले राजनीति हाँक्ने तयारीको रुपमा लिएका छन् । उनी आफै पनि नकार्दैनन् यो कुरालाई । आफू पार्टीको निर्णय र पद्धतिमा काम गर्ने भएकाले जेजस्तो जिम्मेवारी आए पनि आफू अगाडि बढ्ने बताउँदै घुमाउरोरुपमा क्षेत्र नं. ४ को राजनीतिमा होमिने सूचना दिन्छन् ।

मदन भण्डारीको क्षेत्रबाट विद्या भण्डारी हुँदै गगन थापाको क्षेत्रको रुपमा परिचित भएको यो भेक २० वर्षअघि भएको स्थानीय निर्वाचनमा ८० प्रतिशत एमालेका उम्मेदवार विजयी भएका थिए । ०७० सालको संबिधानसभा निर्वाचनमा एमालेको अवस्था निकै कमजोर भएकोप्रति डा. भट्टराई निकै सचेत बनेका छन् ।

उनी भन्छन्, “यो हाम्रा लागि निकै अप्रत्यासित थियो, यसलाई हामी तल्लो तहदेखि सच्याउन र बनाउनतिर उन्मुख छौँ ।” यो क्षेत्रमा युवपुस्ताको चर्चित नेता गगन थापा निर्वाचनमा होमिएका कारण एमालेको अवस्था कमजोर भएको हो भन्ने कुरामा डा. भट्टराई सहमचाहिँ छैनन् । उनी भन्छन्, “अलिअलि प्रभाव पर्ला व्यक्तिको तर समग्रमा पार्टी नै ठूलो कुरा हो । हामीले हाम्रा कमिकमजोरी सच्यायौँ भने व्यक्ति प्रभावको क्षेत्र भन्नु पर्ने अवस्था काठमाडौं क्षेत्र नं. ४ मा छैन ।”

img_1487
चावहिलमा जन्मिएका भट्टराई सानै उमेरदेखि राजनीतिमा सक्रिय थिए । ०४२ ४३ सालमै उनले काठमाडौं पूर्वोत्तर भेकमा धेरैे स्कुलहरुमा अनेरास्ववियूका प्रारम्भिक कमिटि बनाएका थिए । पुराना मानिसहरुले उनलाई राम्ररी चिने पनि विद्यार्थी राजनीतिमा विदेश विभागमा बसेर काम गरेदेखि नै विदेशतिर बढि काम र अध्ययनमा व्यस्त हुँदा पछिल्लो संबिधानसभा निर्वाचनको धेरैपछिबाट मात्र सतहको राजनीतिमा देखिएका हुन् डा. भट्टराई ।

मनोनित सांसद भएपछि आफ्नो सांसद क्षेत्र पनि क्षेत्र नं. ४ लाई नै मानेर सक्रिय भएसँगै बिधिवत कार्यकर्ताहरुको सम्पर्कमा देखिएका हुन् उनी । एमालेभित्र माधव नेपालको सरकार हुँदा विदेश मामिला सल्लाहकार रहेर काम गरेको अनुभव उनीसँग छ । भारतको प्रसिद्ध जेनयु युनिभर्सिटीबाट पिएचडि गरेका डा. राजन भट्टराई एमाले राजनीतिमा वरिष्ठ वैदेशिक मामिलाका जानिफकार पनि हुन् । एमालेमा भारत तथा अन्य मित्रराष्ट्रको बारेमा उनी विज्ञको रुपमा परिचित छन् ।

काठमाडौं क्षेत्र नं. ४ मा बसोबास गर्ने डा. भट्टराई यस क्षेत्रको विकासमा विशेष कृयाशिल छन् अहिले । विकासका क्षेत्रमा पार्टीको राजनीतिभन्दा माथि उठेर अगाडि बढ्नु पर्ने सोच राख्छन् उनी । हाल रहेको संसदमा जुन पहिला व्यवस्थापिका संसद थियो डा भट्टराइको उपस्थिति अन्य सांसदहरुभन्दा १० महिना पछि भएको हो । विशिष्ट व्यक्तिहरुको श्रेणीबाट उनलाई एमालेले विदेश विज्ञको रुपमा सांसद बनाएको हो ।

एमालेभित्र परराष्ट्र मन्त्रीको संभावित उम्मेदवारको रुपमा भट्टराईलाई हेरिएको थियो । तथापि केपि ओली प्रम हुँदा भागवण्डाका आधारमा सो पद राप्रपा नेपालले पाएकाले संभवतः उनी मन्त्री हुन पाएनन् भन्ने गरिन्छ । विद्यार्थी राजनीतिमा छँदा हङकङ बसेर काम गरेका, बेलायतबाट मास्टर्स गरेका तथा जेनयुबाट पिएचडि गरेका भट्टराई एमालेभित्रका बौद्धिक एवम् शान्त नेता पनि हुन् ।

img_1474
एमालेभित्रको गुटमा कुनैबेला माधव नेपाल निकट मानिन्थ्यो राजन भट्टराईलाई । अहिले उनलाई केपि ओली र विद्या भण्डारीको सर्वाधिक नजिकको मानिस भनेर चिनिन्छ । यद्यपि डा. भट्टराई गुटवादको बिरोध गर्छन् । उनी भन्छन्, एमाले पार्टीले बिधिवतरुपमा गुट अन्त्य गर्ने निर्णय गरिसकेको छ ।

चुनावी प्रकृयामा एउटा प्यानल नै लिएर चुनावी प्रकृयामा नजाने निर्णय भैसकेको बताउँदै उनले व्यक्तिगत रुपमा जसले उम्मेदवारी दिन पाउने तर सो व्यक्तिको नाममा पछिसम्म गुट रहन नपाउने अवस्था पार्टीले सिर्जना गरिसकेको बताए । क्षेत्र नं. ४ मा देखिएको आन्तरिक पार्टीगत बेमेलबारे पनि डा भट्टराई अनविज्ञ छैनन् । उनी भन्छन्, “जित्नेलाई हार्नेहरुले सहयोग गर्ने र हार्नेहरुलाई जित्नेले साथ लिएर हिँड्नु पर्छ ।” पानी बाराबारको अवस्थालाई न्यूनिकरण गर्न उनी पहल पनि गरिरहेका छन् । “तर सोचेजस्तो बोलचाल नै बन्द भएको अवस्थाचाहिँ छैन केही असमझदारी भने बढेको हुनसक्छ” उनले थपे । उनले कसैलाई दोष दिन चाहेनन् ।

क्षेत्र नं. ४ को गाउँ क्षेत्रको बिग्रिएको सडक बाटोप्रति उदाशी व्यक्त गर्छन् । बाटाघाटा बनाउन यतिधेरै पैसाको व्यवस्था गरिएको छ तर ठेकेदारहरुले ढिला गरिदिँदा जनताले पाएको सास्तीप्रति डा भट्टराई असन्तुष्ट छन् । विकास निर्माणका कामप्रति उनी जनताको आँखाले हेर्न चाहन्छन् । विकासलाई पार्टी कार्यकर्ताको मात्र हिसाबले सोच्दा विकास समानुपातिक नबनेको बताउँछन् उनी ।

विकास कतिपय कुराहरुका बारे हाल स्वास्थ्य मन्त्रिसमेत रहेका गगन थापासँग छलफलसमेत गरेका उनी बताउँछन् । “विकासका विषयमा जुन लेबलमा समन्वय, सहमति र सहकार्य हुनु पर्ने हो त्यो नभए पनि विकास कतिपय विषयमा हामी एकआपसमा नजिक छौँ” उनले भने । केही वर्ष अघिसम्म विकाससम्बन्धि एउटा संस्थामा डा भट्टराई र स्वास्थ्य मन्त्री थापा सँगै काम गरेको अनुभव पनि सुनाउँछन् उनी ।

(कुराकानीमा आधारित)

फोटो: आशिष गुरागाइँ

तपाइँको प्रतिक्रिया ।