बुनपामा ८ वटा नगरबस सञ्चालन गर्ने प्रयास

nagar-bus

कपन अनलाइन, असोज ११, २०७३

बुढानिलकण्ठ नगरपालिकाले नगरवासीको सुबिधालाई ध्यान दिएर नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत नगरपालिका योजना तथा व्यवस्था ख ले काठमाडौ उपत्यकालगायतका देशभरीका विभिन्न महानगर, उपमहानगर र नगरपालिकाले स्तरीय ठूला बस सञ्चालन सम्बन्धि प्रस्ताव पठाउन पत्र काटेपछि नगरमा आफ्नै बस सञ्चालनको संभावना भएको हो । यस योजनाभित्र पहिलोचरणमा १०० ठूला बस खरिद गरिने छ । जुन बसहरु काठमाडौ उपत्यका, विराटनगर, जनकपुर, विरगंज, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत र घोराही नगरपालिकाले बसहरु प्राप्त गर्नेछन् ।

पहिलो चरणमा खरिद गरिन लागिएको १०० वटा स्तरीय ठूला बसहरुमध्यै बुढानिलकण्ठ नगरपालिकाले ८ वटा बस माग गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासैनीका अनुसार रुट प्लान, बस प्लान र लगानी योजनासहित ८ वटा बसहरु प्राप्तिका लागि पत्र पठाएको बताएका छन् । मरासेनीका अनुसार बुनपावासीलाई नगर हुनुको बोधस्वरुप पहिलोचरणमा केही बसहरु नगरवसको रुपमा संचालन गर्न सके यसले सकारात्मक सन्देश बताए । बसहरुका लागि पहल गरिए पनि रुट निर्माणमा केही समस्या देखिएको छ । कतिपय रुटमा हाल बिभिन्न स्वरुपका भाडाको सवारी साधान संचालित भैरहेको हुँदा केही कठिनाई भएको भए पनि केही सफल र सहज रुटको व्यवस्था हुने कार्यकारी अधिकृत मरासेनीले कपन अनलाइनलाई बताए ।

बुनपामा कार्यकारी अधिकृत भएर आएपछि स्थानीय राजनीतिक दलहरुसँग मिलेर केही महत्वपूर्ण कामहरु गर्ने तयारीमा रहेको विश्वराज मरासेनीले मन्त्रालयको पत्र आउनै बत्तिकै बसका लागि पहल गर्न पुगेका थिए । यसअघि नगरमा सौर्यबत्तीलगायतका विषयमा चर्चा र प्रशंसा पाएका मरासैनी नगरबस योजना सफल पार्ने धूनमा छन् । उनको यो कार्यमा नगरमा राजनीतिक दलहरुको सहजिकरण समिति पनि सकारात्मक छ ।

तपाइँको प्रतिक्रिया ।