महिला सङ्घ अध्यक्षमा रेग्मी विजयी

कपन अनलाइन ,काठमाडौँ, १ असोज ।

नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी अध्यक्षमा विजयी हुनुभएको छ ।

शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान आज बिहान (शनिबार)१२ः१५ मा सकिएको थियो । रेग्मी त्यसभन्दा अघि विसं २०५८मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि अध्यक्षमा विजयी हुनुभएको थियो ।
रेग्मी आफ्ना निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई दुई सय दुई मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । रेग्मीले ९९८ र पाण्डेले ७९६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो ।

यस्तै महासचिवमा धना खतिवडा ९९८ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७७६ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गर्नुभएको छ ।

दुई हजार ११४ मतदाता रहेको उक्त निर्वाचनमा एक हजार ८१४ जनाले मतदान गरेका थिए । कुल ५६ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए । निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति, दलित, मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

तपाइँको प्रतिक्रिया ।