नेपाल अफ्रिका चलचित्र महोत्सवमा चार चलचित्र

नेपाल अफ्रिका चलचित्र महोत्सवमा चार चलचित्र

कपन अनलाइन /काठमाडौँ, २३ भदौ ।

पाँचौंँ ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०१६’ अन्तर्गत आज अफ्रिकी मुलुकका चार चलचित्र प्रदर्शनी गरिएको छ ।

पोर्चुगलको एक सैनिकको जीवनीमा आधारित चलचित्र ‘ब्याटल अफ टबाटो’, बुर्किना फासोको निवृत्तिभरणका लागि सङ्घर्षरत सैनिकको कथा ‘तासुमा’, दक्षिण अफ्रिकाको एक शिक्षकको कथा समेटिएको ‘फुल्स’ र डेनमार्कको चित्रकथा ‘मिनियाम्बा’ प्रदर्शनी गरियो । अफ्रिकी मुलुकको संस्कृति, रहनसहन र जीवनशैलीलाई ती चलचित्रमा देख्न सकिन्छ ।

पोर्चुगलको एक परिवार जो खुसीसँग आफ्नो जीवन बिताइरहेको हुन्छ । सैनिक बाबुलाई देख्न धेरै समय कुर्नुपर्ने छोराछोरीको कथा र छोरीको विवाहमा पुग्ने सैनिक बाबु तथा उनले युद्धमा बिताएका क्षणको सम्झनालाई ‘ब्याटल अफ टबाटो’ देखाउन खोजिएको छ ।

आफ्नो उमेर छउन्जेल फ्रान्सको लडाइँमा समय बिताएका एक वृद्धले निवृत्तिभरणका लागि विभिन्न ठाउँ चाहर्दै हिँड्नुपरेको कथा ‘तासुमा’ मा देखिन्छ । साधारण परिवारका उनी गाउँमा पनि प्रतिष्ठित जीवन बिताएका हुन्छन् । उनले गाउँका महिलाका लागि भनेर मिल बनाएकाले सबैले आदर गर्छन् । त्यति हुँदाहुँदै पनि निवृत्तिभरणका लागि उनी कारागार जीवनसमेत भोग्न बाध्य हुन्छन् । अन्त्यमा उनको साधुपनका कारण उनले सबैको मायाका साथै निवृत्तिभरण पाउँछन् ।

nepal-africa-film-festival-300x256

‘फुल्स’ ले एक शिक्षकको कथालाई समेटेको छ । यौन विकृतिले ग्रस्त उनले आफ्नै कक्षाकी छात्रालाई समेत बलात्कार गर्न पुग्छन् । चलचित्रले ‘गोरो’ र ‘कालो’ छालाबीचको असमानतालाई पनि देखाउने प्रयास गरेको छ ।

युरोप, अमेरिकामा सुखभोग गर्न पाइने लोभमा ज्यान दाउमा राखेर सीमा पार गर्न खोज्ने अफ्रिकीको कथालाई चित्रकथा ‘मिनियाम्बा’ ले दर्साएको छ । होटलमा काम गर्ने एक किशोर युरोप जान पाइने लोभमा होटलमा आएका एक ग्राहकसँगै भाग्छन् । उनी युरोप पुगे पनि उनलाई लैजाने व्यक्तिले भने सीमा काट्न पाउँदैनन् ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजनामा भएको उक्त महोत्सव शुक्रबारसम्म चल्नेछ । महोत्सवमा शुक्रबार अफ्रिकी चलचित्र ‘डोना अजिजा’, ‘रचिडा’ र नेपाली चलचित्र ‘मसान’ प्रदर्शनी गरिनेछ । रासस

तपाइँको प्रतिक्रिया ।