पं होमनाथ उपाध्याय गम्भीर बिरामी, कलेजोको क्यान्सरले पिडीत

पं होमनाथ उपाध्याय गम्भीर बिरामी,  कलेजोको क्यान्सरले पिडीत

maxresdefault

कपन अनलाइन, १८ भदौ, २०७३ ।

करिब डेढ महिनादेखि बिरामी हुनुभएका वरिष्ठ तबलावादक पण्डित होमनाथ उपाध्याय चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् ।

नेपाली तबलावादनका गुरु ७३ वर्षीय उनलाई कलेजोमा क्यान्सर भएको उपचारमा संग्लग्न चिकित्सकलाई उद्धृत गर्दै तबलावादक तथा गायकसमेत रहेका उनका छोरा प्रमोद उपाध्यायले जानकारी दिए । यसअघि उनको भारतको मुम्बइमा लगेर उपचार गरिएपछि स्वास्थ्यमा केही सुधार देखिएको थियो । तर बुधबार अचानक उनलाई गाह्रो भएपछि अस्पताल लगिएको हो ।

अहिले उपाध्यायको अवस्था गम्भीर भए पनि सही किसिमको उपचार भए स्वास्थ्यमा सुधार आउने आशा गरिएको उनका चेला कृष्णबहादुर विष्टले बताए । उपाध्याय नेपालका सबै तबलावादकका गुरु भएकाले उनको योगदानको कदर गर्दै राज्यले उपचारमा सहयोग गर्नुपर्ने विष्टको भनाइ थियो । उनले भने, “उहाँसँग जुन सिकाउने कला छ, अरु कसैमा छैन, यस्तो राष्ट्रको धरोहरप्रति सरकारको ध्यान जाओस् ।”

छोरा प्रमोदले भने बुबा बिरामी भएको कुरा आफूले बाहिर नल्याएकाले राज्यको ध्यानाकर्षण नभएको बताए । विसं २००० मा भोजपुरमा जन्मिनुभएका उपाध्याय हाल हाँडीगाउँ निवासी हुन् । उनले बनारस हिन्दू विश्वविद्यालयबाट सङ्गीत र अङ्गे्रजी साहित्यमा स्नातकोत्तर गरेका  छन् । भारतमा रहेर पनि विभिन्न चलचित्रमा सङ्गीत दिएका उनले अमेरिकाको क्यालिफोर्नियामा रहेको विश्वविद्यालयमा तबला विषयमै प्राध्यापनसमेत गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।