यलमाया केन्द्रमा गोपाल योन्जनको विशिष्ट सम्झना

यलमाया केन्द्रमा गोपाल योन्जनको विशिष्ट सम्झना

14022187_10154504560446180_2880606625965831735_n

कपन अनलाइन, ३ भाद्र, २०७३

गोपाल योन्जन यो धर्तीबाट बिदा लिएको १९ वर्ष पुग्यो । नेपाली गीत संगीत क्षेत्रका मूध्र्यन्य प्रतिभा गोपाल योन्जन अतुलनीय व्यक्तित्व थिए । आधुनिक संगीत, राष्ट्रिय गीत, भजन वा चलचित्र संगीत सबै बिधामा एकछत्र साम्राज्य चलाएका गोपाल योन्जनले नेपाली संगीतको एक कालखण्ड मात्र प्रतिनिधित्व गर्दैनन् नेपाली गीतसंगीत रहुन्जेल सदैब राज गर्नेछन् । आफ्ना सिर्जनाकारिताको उच्च बिन्दुमा पाइला चाल्दै गर्दा ५४ वर्षकै अल्पायुमा निधन भयो । उनले नेपाली संगीतमा बिताएको उमेरले जन्माएका अमूल्य सिर्जना भने युगौँ बाच्नेछ । विसं २००० सालमा भारतको मिरकमा जन्मिएका गोपाल योन्जन नेपाली गीत संगीतका सिंगो संस्था थिए । नारायणगोपाललाई नारायणगोपाल बनाउन उनकै भूमिका थियो भनिन्छ । स्वदेशगानलाई माटोको मिठास र इतिहासको गन्धले कसरी सुललित बनाइन्छ भन्ने कुरा पनि योन्जनले नेपाली संगीतलाई सिकाए भनिन्छ । गोपाल योन्जन नजमेको कुनै बिधा नै थिएन ।

14068314_1094791720575380_7089885876034061850_n
बि सं २००० को जनैपूर्णिमाको दिन जन्मिएका गोपाल योन्जनलाई जनैपूर्णिमा कै दिन पारेर सम्झिने प्रयास गरिएको छ । एकदशकदेखि नेपाली सुगम संगीत क्षेत्रको बिबिधतामा कृयाशील शुभारम्भ द म्यूजिकल जर्निले महान स्रस्टाहरुलाई सम्झने क्रममा यही भाद्र २ गते गोपाल योन्जनको संझनामा २ घण्टे विशेष कार्यक्रम आयोजना गर्यो । नेपाली गीत संगीत क्षेत्रका वरिष्ठ समिक्षक प्रकाश सायमीको अग्रसरतामा भएको कार्यक्रम पाटनको यलमाया केन्द्रमा भएको थियो । गोपाल योन्जनका प्रशिद्ध गीतहरु पस्किएको कार्यक्रममा गोपाल योन्जनका सबैभन्दा नजिकका साथी गीतकार नगेन्द्र थापाले योन्जनसँगको अन्तरंग जीवनको संझना गरेका थिए । नगेन्द्र थापाले गलाअबरुद्ध हुँदै गोपाल योन्जनलाई सम्झिँदै गर्दा हलमा बसेका करिब डेढसय संगीतप्रेमी द्रविभूत भएका थिए ।

गोपाल योन्जनको ७४ औँ जन्मजयन्तिको सो कार्यक्रम बालकलाकार आयुष्मान बिष्टले गोपाल योन्जनको प्रशिद्ध सिर्जना ‘बनेको छ छहराले यो छाती मेरो’ गाएर शुरु गरेका थिए । आयुष्मानको उत्कृष्ट प्रस्तुतीमा यलमायाको बग्गीखाना हलनै देशप्रेमले ओतप्रोत भएको थियो ।

14067470_1094791583908727_5669005373794584180_n
कलाकार मिना पोखरेल निरौलाले डा राममान तृषितको रचनामा गोपाल योन्जनले संगीत भरेर नारायणगोपाले गाएको चर्चित गति ‘मैले पुण्य मन पराए’ गाइन् । युवा पुस्ताकी प्रशिद्ध गायिका रिमा गुरुङ होडाले गोपाल योन्जनको अन्तिम एल्बम निशानी ५२ मा उनैले गाएको अत्यन्त गम्भीर गीत ‘बाँचिदिन्छु तिम्रै लागि’ गाइन् । चर्चित गायिका संगिता शाक्यले गायक शैलेश सिंहसँग भूमरी चलचित्रको’ पिरतीको के कुरा’ तथा कान्छी चलचित्रको ‘हिमालसरी म अग्ली रहेछु’ भन्ने गीत गाइन् । शुभारम्भ द म्यूजिकल जर्निका लिडर गायक शैलेश सिंहले ‘देशले रगत मागे मलाई बली चढाउ’ ‘ भन्ने गीत गाए ।

त्यसपछिको पालो थियो वरिष्ठ चलचित्र निर्देशक तथा गीतकार चेतन कार्कीको । कार्कीले आफ्नो चिरपरिचित हँसिलो शैलीमा गोपाल योन्जनसँग बिताएका केही स्वदेशका केही कोलकाताका सम्झनाहरु सुनाए । गोपाल योन्जनले चेतन कार्कीलाई चलचित्रमा मात्र संगीत दिएको संझना गरे । कार्कीले गोपाललाई हिमालभन्दा अग्लो र समुन्द्रभन्दा गहिरो व्यक्तित्व भएको बताउँदै गोपाल योन्जन आफ्ना लागि जीवनदर्शनको गूरु भएको बताए ।

यसपछिको प्रस्तुतिको पालो थियो गायक सुरज थापाको । प्रसिद्ध लोक गायिका तीर्थकुमारीका सुपुत्र सुरजले गोपाल योन्जन र नारायणगोपालको प्रसिद्ध ‘यति चोखो यति मिठो दिउँदा तिम्रो माया’ भन्ने गीत सुनाए । सुरजपश्चात स्टेज चढेका देवेन्द्रमान सिंहले गोपाल योन्जनको अत्यन्त गारो कम्पोजिसनमध्ये ‘एक बिर्सेर फेरी मलाई नहेर’ भन्ने नारायणगोपालको गीत सुनाए ।

कार्यक्रममा कवि स्नेह सायमीले गोपाल योन्जनमा समर्पित कवितासहित संगीत क्षेत्रका केही सम्झनाहरू सुनाए । कार्यक्रमको अन्त्यमा गायक शैलेश सिंहले गोपाल योन्जनको अत्यंत गारो गीत र नसुनिएको गीत ‘अहिले सम्म बांचेका मेरा बियोगलाई’ गाए । यलमाया केन्द्रमा भएको उत्कृष्ट सांगीतिक कार्यक्रममा वरिष्ठ गीतकार विश्व् बल्लभ, नेपालका प्रथम रकस्टार माइक खडका, वरिष्ठ संचारकर्मी सुमन खरेल, जैनेंद्र जीवनलगायतका वरिष्ठ व्यक्तिसहित संचारकर्मी र संगीतप्रमीहरुको ठूलो जमघट थियो ।

फोटो: अजरअमर गीतहरू

तपाइँको प्रतिक्रिया ।