भोलिबाट बौद्ध धर्मावलम्बीको प्रशिद्ध एक महिने ‘गुँला’ पर्व शुरू

gula-parba

कपन अनलाइन, १८ साउन, २०७३

बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व बुधबारदेखि सुरु हुँदैछ । एकमहिने ‘गुँला’ पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू क्षेत्र विकास महासमितिले जनाएको छ । प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको अवधिभर सञ्चालन हुने उक्त मेलामा आउने भक्तजनको सहजताका लागि आवश्यक स्वयंसेवक तथा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यका तथा वरपर क्षेत्रबाट आउने भक्तजनले सहभागिता जनाउने मेलामा स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा सरसफाइका साथै तथा खानेपानीको व्यवस्था मिलाइएको छ । भक्तजनलाई आवश्यक परेमा सामान्य स्वास्थ्योपचारको व्यवस्था र एम्बुलेन्स तैनाथ अवस्थामा समेत राखिएको समितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । महासमितिले त्यस क्षेत्रको पुनःनिर्माणका लागि खर्च गर्नु परेकाले यस पटक मेलाका व्यवस्थापनका लागि विगतमा भन्दा कम अर्थात् करिब रु तीन लाख छुट्याएको छ ।

नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिना हो । सामान्यतया नेपाल संवत्को नौ महिनामा पर्ने सो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्वका रुपमा परिचित छ । पर्वका अवधिमा स्वयम्भू तथा त्यस क्षेत्र नजिकका चैत्यको दर्शन गर्ने परम्परा रहेको स्वयम्भूका पुजारी बाबुराजा बुद्धाचार्यले जानकारी दिए ।

फाइल फोटो

तपाइँको प्रतिक्रिया ।