एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने भयो

resize_image

कपन अनलाइन १८ साउन, २०७३

नेकपा (एमाले)ले प्रधानमन्त्रीको निर्वाचनमा आफ्ना तर्फबाट उम्मेदवारी नदिने भएको छ । यस अघि पूर्व सभामुख सुवास नेम्वाङ प्रधानमन्त्री पदमा उठ्ने हल्ला चलेको थियो ।  प्रधानमन्त्रीमा उम्मेदवारी नदिने भए पनि एमालेले नेपाली काँग्रेस र (माओवादी केन्द्र)का उम्मेदवार पुष्पकमल दाहालका विरुद्धमा मतदान गरी जिम्मेवार प्रतिपक्षमा बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको एमाले स्थायी कमिटीको बैठकपछि पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आफूहरुले राष्ट्रिय सहमतिका लागि आवाज उठाउँदै आएका सन्दर्भमा जिम्मेवार राजनीतिक संस्कार र वातावरणका लागि सो निर्णय गरेको बताए ।

संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक मात्र उम्मेदवार भए पनि मत विभाजनबाट निर्णय हुनेछ । एमालेले हालसम्म आफ्नो गठबन्धनमा रहेका दललाई पनि दाहालको विरोधमा मतदान गर्न आग्रह गरेको छ । उहाँले संविधान र कार्यान्वयनका लागि सहमतिको राजनीति एमालेको प्राथमिकता भएकामा जोड दिँदै २०७४ माघभित्र तीनै तहका निर्वाचन नगराउने षड्यन्त्रप्रति खबरदारी गर्ने बैठकले निर्णय गरेको जानकारी दिए । उनले राष्ट्रिय एकता र सद्भावमा खतरा उत्पन्न हुने अवस्थामा संविधान संशोधन आफ्नो पार्टीलाई स्वीकार्य नहुने तर सहमतिबाट समाधानका लागि लचिलो हुने जनाए । “मुलुकमा संवैधानिक वा राजनीतिक रिक्तता तथा लोकतान्त्रिक मान्यतामा खतरा आउन सक्नेतर्फ हामी गम्भीर छौँ”, नेता भट्टराईले भन्नुभयो, “तर हामी राष्ट्रिय सहमति तथा संस्कारयुक्त राजनीतिका पक्षमा छौँ ।”

तपाइँको प्रतिक्रिया ।