‘कामकाजी महिलालाई स्तनपान गराउन कार्यालयले पनि सहयोग गर्नुपर्छ ।’

‘कामकाजी महिलालाई स्तनपान गराउन कार्यालयले पनि सहयोग गर्नुपर्छ ।’

कपन अनलाइन /काठमाडौँ, १८ साउन ।

—कल्पना पौडेल

‘‘मैले मेरो बच्चालाई छ महिनासम्म आफ्नो मात्र दूध खुवाए । म कामकाजी हँुदाहँुदैँ पनि मलाई मैले काम गर्ने संस्थाले आफनो बच्चालाई छ महिनासम्म घरै बसेर स्याहार गर्न बिदा दिएको थियो ।’’

‘सेभ द चिल्डे«न’मा काम गर्ने एन्जेलिना कार्कीले आफ्नो अनुभव सुनाउदैँ बच्चालाई दुई वर्षसम्म आमाको दुध खुवाउन आवश्यक भएको पनि बताउनुभयो ।

उहाँले नेपालमा धेरै कामकाजी महिला सुत्केरी भएपछि कामको चापले आफ्ना बच्चालाई पर्याप्त स्तनपान नगराउने गरेको उल्लेख गर्दै त्यसका लागि कार्यरत संस्थाले त्यो प्रबन्ध मिलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाल स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा कार्यरत निशा जोशीले पनि सुत्केरी भएपछि तीन महिना सुत्केरी बिदा पाएको उल्लेख गर्दै थप बिदा बस्न चाहनेलाई सरकारले छ महिना सुत्केरी बिदाको व्यवस्था गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘बच्चालाई समय–समया आमाको दूध खुवाउनुपर्छ । सुरुमा पाएको पोषिलो आहारले उसको भावी जीवनलाई प्रभाव पार्छ । त्यसैले हरेक आमा मात्र होइन, घरका अन्य सदस्यले पनि बच्चालाई पूर्ण स्तनपान गराउने वातावरण मिलाएर सहयोग गर्नुपर्छ ।’’

शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत स्वास्थ्यकर्मी कल्पना बुढाथोकीले पनि आफ्नो बच्चालाई पटकपटक स्तनपान गराउन परिवारका सासू र श्रीमान्को महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

कामकाजी महिलाले बच्चा, परिवार र कार्यालयको दोहोरो जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले त्यो जिम्मेवारी पूरा गर्न ती समूहले सहयोगी भूमिका खेल्नुपर्ने बताउनुहुन्छ, सुनौलो हजार दिन कार्यक्रमका सम्भावना दूत दिपाश्री निरौला ।

बालस्वास्थ्य महाशाखाका निर्देशक डा राजेन्द्र पन्तले सर्वगुण सम्पन्न आमाको दूधको स्रोत अर्थात आमाको पोषण, स्वास्थ्यस्तर, उनले दैनिक प्राप्त गर्ने खानाको स्तरबारे पनि ध्यान दिन जरुरी भएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘स्तनपानलाई प्राथमिकता दिँदा शिशुले यथेष्ट पौष्टिक तत्व प्राप्त गर्ने मौका पाउँछ तर आमाको खानाको खानामा उचित ध्यान पु¥याउन नसकेमा उनको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । प्रायःजसो सुत्केरी महिलामा लौहतत्व, भिटामिन ‘ए’, प्रोटिन कमी हुने अध्ययनले देखाएको छ ।’’

जति आमाको पोषणस्तर राम्रो हुन्छ, त्यति नै गुणात्मक र परिणात्मक रुपमा शिशुले आमाको दूध प्राप्त गर्नसक्छ । वरिष्ठ बालरोग विशेषज्ञ डा प्रकाशसुन्दर श्रेष्ठले शिशुको दिमाग तथा शारीरिक विकासको लागि पनि स्तनपान आवश्यक भएको बताउनुहुन्छ ।

नेपालमा ७० प्रतिशत आमाले मात्र आफ्ना बच्चालाई नियमित स्तनपान गराउने गरेको बताउदैँ डा श्रेष्ठले स्तनपानले १३ प्रतिशत बालमृत्युदरलाई रोक्ने बताउनुभयो ।

आमाको स्वास्थ्य स्थिति सन्तुलित राख्न र अर्काेतिर शिशुलाई यथेष्ट दूध उपलब्ध गराउन आमाको भोजनमा पनि साधारणभन्दा थप खानाको व्यवस्था गर्नुपर्छ ।

महिलाको अवस्था, उनले गर्ने कामको प्रकृति हेरी दैनिक भोजनमा क्यालोरी, प्रोटिन, भिटामिन, खनिजपदार्थ थप गर्नुपर्ने हुन्छ । सुत्केरी महिलाले दैनिक आवश्यक र सन्तुलित भोजन प्राप्त गर्न सकेमा शरीर स्वस्थ राख्न मद्दत मिल्छ ।

आमाको दूधमा शिशुको सम्पूर्ण विकासको लागि चाहिने सम्पूर्ण तत्व हुने भएकाले आमाको स्वास्थ्य पनि सकारात्मक प्रभाव पार्ने चिकित्सक बताउँछन् ।

स्तनपान गराउँदा आमाको शरीरबाट निस्कने एक प्रकारको हर्मोन अक्सिटोक्सिनले पाठेघरको मांसपेशी खुम्च्याउने, चाँडो रक्तस्राव रोक्ने, पहिलेको शारीरिक बनावट र तौल कायम गर्ने, आमा र शिशुबीच बलियो भावनात्मक सम्बन्ध कायम राख्न मद्दत पु¥याउने अनुसन्धानले देखाएका छन् ।

विश्वमा हिजोदेखि एक हप्ता अर्थात अगस्त १ देखि ७ सम्मलाई विश्व स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ । रासस

तपाइँको प्रतिक्रिया ।