बुनपाको विकास कसरी गर्ने ?

Sampadakiya _kapanonline

कपन अनलाइन, ८ साउन, २०७३

नवगठित नगरपालिकामध्ये धेरै कुराले महत्वपूर्ण मानिने बुढानिलकण्ठ नगरपालिका यतिखेर दीर्घकालिन योजना र सोच अभावमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रुमल्लिएको देखिन्छ । दीर्घकालिन योजनाको अभाव तथा मकै छरेजस्तै बजेट वितरण हुँदा वार्षिक करोडौँ रुपैँया विकास खर्चमा प्रयोग भए पनि त्यो असरदार बनेको छैन । बुनपाभित्र भौगोलिक, सामाजिक, आर्थिक तथा बसोबासको हिसाबले देखिएका चरम बिबिधता बीच विकासको समानुपातिक वितरण हुन नसक्दा नगरपालिका हुनुको महत्वबोध समेत हुन सकेको छैन ।

काठमाडौंको काँठ बोध गरिने साविक ६ वटा गाविसलाई एकाएक नगरपालिका घोषणा गरेपछि यस नगरमा बस्ने जनसामान्यले गाविस र नगरपालिका हुनुको फरक पत्तो लगाउन नसकेका हुन् । कतिपय जनताको त नगरपालिका भए पछि स्थानीय निकाय आफ्नो पहुँचभन्दा टाढा भएको अनभूति गरिरहेका छन् । पहँुचभन्दा टाढा भएर पनि गाविस र नगर हुनुको विकासे अनभूति प्राप्त गर्न नसकेको अवस्थामा बुढानिलकण्ठ नगरपालिकालाई कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा कपन अनलाइनले बहश संचालन गर्ने तयारी गरेको छ । यो कार्यक्रम अन्तर्गत बुनपाभित्र पर्ने सांसददेखि राजनीतिक दलका प्रतिनिधि र विकाससँग सरोकार राख्नेहरुलाई बीच छलफल शुरु हुनेछ । पहिलोचरणमा व्यक्तिहरुसँग छलफल गरिएपछि बुनपाभित्रका १९ वटै वडाहरुमा पुगेर सार्वजनिक सुनुवाई गरी त्यहाँको बस्तुस्थिति संकलन गरिनेछ । बहश तथा सार्वजनिक सुनुवाईबाट प्राप्त सूचना तथा डाटालाई संग्रहित गरिनेछ ।

नगरपालिका कसरी राम्रो बनाउने भन्ने कुरा सबै नगरवासीको चासो हो । यस नगरपालिकामा रहेका सबै नगरवासीलाई कपन अनलाइन सहकार्यका लागि आव्हान गर्दछ । तपाईको अबधारणा प्रस्तुत गर्नुहोस् । हामी प्रकाशित गर्नेछौं र संग्रहित गर्नेछौँ ।

तपाइँको प्रतिक्रिया ।