बुनपा कार्यालय तथा दलहरूमा नगर विकाससम्बन्धि ठोस रणनीति अावश्यक

बुनपा कार्यालय तथा दलहरूमा नगर विकाससम्बन्धि ठोस रणनीति अावश्यक

कपन अनलाइन, २० असार, २०७३/सम्पादकीय

fghfgb

-केशवराज पाठक

बुढानिलकण्ठ नगरपालिका डेढ वर्षको भएको छ । देशकै संभावना भएको तथा महत्वपूर्ण मानिएको यो नगरपालिका धेरै अर्थमा समृद्ध पनि छ । यद्यपि अझै बुनपालाई कसरी विकास गर्ने बारे ठोस रणनीति भने बन्न सकेको देखिदैन । बुढानिलकण्ठ नगरपालिकाले अहिलेसम्म सम्बन्धित विज्ञहरुलाई राखेर विकाससम्बन्धि अन्र्तक्रिया वा बहस नगरेकोमा गुनासो गर्नेहरु पनि बढेका छन् । नगरपालिका बनेको डेढ वर्षमा ४ वटा कार्यकारी अधिकृत पाइसकेको बुनपाले हाल कार्यकारी प्रमुखको रुपमा आएका विश्वराज मरासैनीबाट धेरै आश गरेको देखिन्छ । यसअघि धुलिखेललगायतका महत्वपूर्ण स्थानीय निकायमा बसेर काम गरेको अनुभवले उनलाई यो नगरपालिकामा केही महत्वपूर्ण काम गर्न लालयित बनाउने अनुमान गर्न सकिन्छ ।

bunapa

धुलिखेल नगरपालिकामा हुँदा जग्गा प्लटिङ विषयमा महत्वपूर्ण नीतिगत तथा कार्यगत काम गरेर नाम कमाएका मरासैनीले बुनपामा आएपछि यहाँ राजनीतिक पार्टीहरुको सहजीकरण समितिसँग समन्वयगरी दुरगामी कार्यक्रम अगाडि सार्ने अनुमान गरिएको छ । भर्खर शुरू भएको न्युरो हस्पिटलदेखि नारायणस्थानसम्मको बाटोमा सौर्यबत्ति कार्यक्रम आयोजना लगायतको विषयले मरासैनीलाई केही गर्ने कार्यकारी निर्देशकको रुपमा सबैले हेरेका छन् । उनले बुनपालाई विकासको बाटोमा अगडि बढाउने दीर्घकालिन सोचसहित दलहरूलाई एकत्रित बनाउनु पर्ने छ ।

आन्तरिक गुटबन्दिका कारण तनावमा रहेका बुनपाका राजनीतिक दलका प्रतिनिधि तथा प्रमुखहरुले बुनपाको विकासमा सोच्ने तथा पुर्याउने योगदानले पनि यस नगरको विकासमा ठूलो भूमिका खेल्न सक्नेछ । पार्टीको आन्तरिक खिचातानीका कारण कुन बेला सहजीकरण समितिबाट नाम हट्ने हो भन्ने त्राशबाट ग्रसित प्रमुख राजनीतिक दलहरुले नगरपालिका विकासको यो संक्रमणकालमा राजनीतिभन्दा माथि उठेर केही खाका बनाउन सक्नु पर्ने देखिन्छ ।

हाल नगरपालिका सहजीकरण समितिबाट नीति तथा गतिबिधिमा महत्वपूर्ण योगदान दिन सक्ने व्यक्तिहरुका रुपमा रहेका विदुरविक्रम खड्का, रविन अधिकारी, राजाराम बुढाथोकी, श्याम केसी, राजाराम सिलवाल, सिला लामालगायतले केही गरेर देखाउने बेला आएको छ । वार्षिक रुपमा बजेट चलखेलमामात्र सहजीकरण समितिका व्यक्तिहरु नरमाएर विकसित बुढानिलकण्ठ नगरपालिका बनाउन क्षेत्रगत हिसाबमा खाका कोर्न राजनीतिक दलहरुले सोच्ने बेला आइसकेको छ । कुनै पनि बेला हुन सक्ने स्थानीय निकायको निर्वाचनलाई ध्यान दिएर पार्टीहरुले विकासवादी हुँ भनेर प्रमाणित नगरे चुनावी मुद्धासमेत कमजोर बन्ने टड्कारो रुपमा देखिन्छ ।

भर्खरै नगरपालिका बनेको अवस्थामा २५ करोडको वार्षिक बजेट रहेका बुढानिलकण्ठ नगरपालिकालाई सबै स्वरुपबाट हेर्न, बस्न तथा रमाउन योग्य बनाउन सबै एक भएर अगाडि बढ्नु पर्छ । सहजीकरण समितिमा गएका व्यक्तिहरुले कस्तो काम गरिरहेको छ भन्ने कुरामा पार्टीहरुले अनुगमन गर्ने तथा केही गर्न सक्ने व्यक्तिहरु नै पठाउन सके पार्टीको भूमिका स्पष्टरुपमा विकासन्मुख देखिनेछ ।

तपाइँको प्रतिक्रिया ।