शिक्षा, भाषा, धर्म र संस्कृतिलाई समाप्त पार्न खोजे समाज नै समाप्त हुने !!

शिक्षा, भाषा, धर्म र संस्कृतिलाई समाप्त पार्न खोजे समाज नै समाप्त हुने !!

0

कपन अनलाइन, ११ असार, २०७३

काठमाडौँ ११ असार । स्वामी चन्द्रेशजी महाराजले प्राचीन र वैदिक भूमि नेपालले आफ्नो पहिचान गुम्न नदिन मुलुकलाई हिन्दू राष्ट्र बनाउनुपर्ने बताएका छन् । आध्यात्मिक चेतना समाज बुद्धनगरले शुक्रबार यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा स्वामी चन्द्रेशले मानिसलाई हिँड्न सिकाउने, दुष्टलाई पर राख्ने र हीनतालाई दूर गर्ने शब्दको अर्थ नै हिन्दू भएको बताउँदै प्राचीन यो धर्मलाई नै राष्ट्रको धर्म बनाउनुपर्छ, यसैमा नेपाल राष्ट्र र नेपाली जनताको कल्याण हुन्छ भने ।

मानिसले तनाव, रोग र भयबाट आफूलाई जोगाउन सके शतायु बाँच्न सक्ने बताउँदै उहाँले आफ्नो मानवीय धर्मलाई गतिशील भई धर्म, अर्थ, काम र मोक्षका लागि जीवनलाई समर्पित गर्नुपर्ने बताए । उनले मानव दानका लागि नै जन्मेकाले उसले जीवनमा अन्न, वस्त्र, शिक्षा, धन र उत्साहको दान मानिसलाई गर्नुपर्छ, यसबाट नै खास अर्थमा मनुष्य बन्न सकिन्छ भन्नुभयो । “शरीरको आनन्द र मनको आनन्द मात्र होइन निरन्तरको आनन्द पाउनु नै प्रमुख लक्ष्य हुुनुपर्छ ”, उनले भने। उहाँले बिहानको समय परमात्मालाई छुट्याउन तथा र ॐ जपेर ब्रह्मप्राप्ति र दुःखनाश गर्न सल्लाह दिनुभयो ।

उनले शिक्षा, भाषा, धर्म र संस्कृतिलाई समाप्त पार्न खोजे समाज नै समाप्त हुने भएकाले संस्कृतिलाई जोगाउनु अहिलेको मुख्य चुनौती भएको उल्लेख गरे । पृथ्वी चलाउने आधार धर्म हो भन्दै प्रत्येकले आफ्नो धर्मको आधारमा अस्तित्व जोगाउनुपर्नेमा उनले जोड दिए । उनले आफ्नो जन्मदिवस मनाउँदा बत्ती बालेर, शुभकामना व्यक्त गरेर भजनकीर्तन गर्न सल्लाह दिँदै यसबाट मानिसको आयु बढ्ने विश्वास व्यक्त गरे । “जन्मदिनमा बत्ती निभाउनु हुँदैन”, उनले भने । आध्यात्मिक चेतना समाजका अध्यक्ष केशव प्रसाईँले समाजले विभिन्न समयमा अध्यात्मसम्बन्धी विभिन्न कार्यक्रम गर्नाका साथै बालबालिका र वृद्धवद्धालाई आर्थिक सहयोग गर्दै आएको जानकारी दिएका थिए।

श्रोत: रासस

तपाइँको प्रतिक्रिया ।