अम्बर सँधै अमर रहनेछन्

अम्बर सँधै अमर रहनेछन्

                    ———————–सम्पादकीय‍‍‍‍‍‍‍‍‍‍‍‍————————————

fghfgb

कपन अनलाइन, काठमाडौँ, २५ जेठ, २०७३ 

नेपाली संगीत आकाशका उज्ज्वल नक्षत्र अम्बर गुरुङको उपचारका क्रममा आज बिहान ७९ वर्षको उमेर निधन भएको छ । स्व. गुरुङ नेपाली गीत, सङ्गीत क्षेत्रको अनमोल हिरा थिए । नेपालका वर्तमान राष्ट्रिय गीतका संगीतकार भएरमात्र नभै नेपाली संगीत आकाशमा उनले पस्केका बहुमूल्य गीत, संगीत र रचनाले उनलाई महान बनाएको हो ।भोजन नली, मधुमेह, रक्तचापलगायत समस्यासँग जुधिरहनुभएका गुरुङको केही दिनदेखि राजधानीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको थियो । यसअघि उनको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो । भारतको दार्जि्लिङमा जन्मेर नेपाल ०२६ सालमा आई अनवरत नेपाली संगीतलाई हुर्काउन मेहनत गरेका गुरुङलाई नेपाल बोलाउन तत्कालिन राजा महेन्द्रको भूमिका थियो । अम्बर गुरुङले म दुर भएर के भो, तिमी भूलमा पर्यौ, कहिले लहर हो, नौलाख तारा उदाए, बिर्से पनि, उकाली चढ्दा, याद आए जस्ता दार्शनिक गीतहरु नेपाली संगीत आकाशमा छाडेर गए । उनले करिब हजार गीतमा सङ्गीत भरे भने उनले आफैले लेखेका गीतहरुमा झनै बेजोडको मानिन्छ । गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए अम्बर गुरुङ ।

विसं १९९४ फागुन १४ गते भारतको दार्जि्लिङमा अम्बर गुरुङको जन्म भएको थियो । यद्यपि उनको परिवार नेपालकै गोरखा जिल्लाको रिसिङबाट प्रवास पुगेको थियो । उनको पहिलो गीत ‘नौलाख तारा उदाए…’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो । विसं २०२४ मा बिधिबत नेपाल आएका गुरुङले २०२६ देखि प्रज्ञा–प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गरेका थिए । उनलाई २०२७ सालमा ‘गोरखा दक्षिण बाहु’द्वारा विभूषित गरिएको थियो ।

कला संगीतका पारखी राजा महेन्द्रले अम्बर गुरुङको विशिष्टता बोध गरेर नेपाल भित्र्याएका थिए । उनी नेपाल आएसँगै नेपाली संगीतले एउटा बिशाल आकाश पायो । सयौँ महान र कालजयी गीतहरु बनाए गुरुङले । व्यवसायिक अर्केस्ट्रा उत्पादनमा ठूलो जोड थियो उनको तर उनी जिउँदो छँदै यो काम पूरा हुन सकेन । उनले आफुजस्ता केही भविष्यका हनोहार चेलाहरु उत्पादन गरेका छन् । त्यसो त हरेक नेपाली संगीत क्षेत्रका व्यक्तिहरु उनका चेला तथा अनुयायी हुन् । उनले बोकेको नेपाली मौलिक संगीतको पक्षलाई सबैले जोगाएर उत्थान गर्नु अब साँचो अर्थमा अम्बर गुरुङप्रति श्रद्धाञ्जली हुनेछ । अम्बर सँधै अमर रहनेछन् ।

तपाइँको प्रतिक्रिया ।