समाजसेवाबाट राजनीतितिरको यात्रामा तेज रोक्का

Fullscreen capture 06-06-2017

कपन अनलाइन, जेठ २४, २०७३

बाल्यकालमा दुःख पाएका धेरै मानिस ठूलो भएर नाम कमाएका उदाहरण हाम्रो समाजमा थुप्रै पाइन्छन् । दुःखले हुर्किएर सुख पाएका केही नामहरु भने अहिले दुःख पाइरहेकाहरुको सहयोगमा जुट्ने गरेका छन् । यद्यपि यस्ता नामहरु थोरैमात्र सुन्नमा आउँछ । नवधनाड्य बनेर बस्नुभन्दा आफूले कमाएका केही र केही जुटाएर आफूभन्दा कमजोरलाई सहयोग गर्ने अभियानका एक अभियान्ता हुन् तेज रोक्का । ओखलढुंगा जिल्ला रगनीमा जन्मिएका रोक्काको बाल्यकाल अत्यन्तै कमजोर बितेको थियो ।

दुखैदुखमा ओखलढुंगाबाट सर्लाही झरेका रोक्काले बाल्यकालमै आमा गुमाएका थिए । सर्लाहीको जुटपानीमा रहेको प्रेमदयाल प्रधानले खोलेको विद्यालयमा अध्ययन गरेर सुख पाउने र केही गर्ने अभिलाषाले काठमाडौं प्रवेश गरेका तेज रोक्काले काठमाडौं बसाइको सुरुवाती दिन पनि अत्यन्तै दुखद बिताए । अरुको घरमा भाँडा माझ्ने कामसम्म गरे । दुखैदुखका बीच पढ्ने कामचाहिँ छाडेनन् । पढाइमा अब्बल रहेका रोक्काले आफ्नो दुःखलाई सुखतिर परिवर्तन गर्ने क्रममा थुप्रै प्रयासहरु गरे । येनकेन पैसा जुटाएर खरिद गरिएको जमिनले उनलाई आजको उचाइमा ल्याउन ठूलो भूमिका रहेको उनको भनाई छ । पाँचलाख लगानीमा किनेको जमिन धेरै गुना बढिमा बिक्री भएपछि परिवर्तन भएको उनको आर्थिक जीवन अहिले समुन्नत छ ।

काठमाडौंको थलीमा करिब तीसजना टुहुरा बालबालिकालाई गाँस,बास र कपाससहित पढाएर राखेका छन् । काठमाडौं लगायत देशका धेरै विद्यालय, संघसंस्था एवम् व्यक्तिहरुलाई सहयोग गर्ने गरेका छन् । उनका अधिकांश सहयोग शिक्षा र स्वास्थ्यका क्षेत्रमा हुने गरेको छ । राजनीतिशास्त्रका विद्यार्थी रोक्का यतिखेर नेपालको प्रतिनिधित्व गरेर नेपालका बारेमा विश्वमा चिनारी दिन बिभिन्न देशहरुमा पुग्छन् । देशका लागि शिक्षा र स्वास्थ्यका बिभिन्न श्रोतहरु जुटाउने गरेका छन् ।

राजनीतिमा पनि सक्रिय छन् तेज रोक्का । ०३६ सालमा सानैछँदा बहुदलको हुलमुलमा हिँड्दा लठ्ठि खाएका याद छ उनलाई । ०४६ सालको आन्दोलनमा सक्रिय आन्दोलित बनेको रोक्का यतिखेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल सांस्कृतिक संघका केन्द्रिय सदस्यसमेत रहेका तेज रोक्का बुढानिलकण्ठ नगरपालिका वडा नं. १४ मा बस्छन् । यसै वडाबाट राजनीतिमा पनि सक्रिय छन् । सामाजिक क्षेत्रका धेरैभन्दा धेरे गतिबिधिमा सक्रिय सहभागिता देखाइरहेका रोक्कालाई काठमाडौंको उत्तरी भेकका उदाउँदो नेताको रुपमा लिइने गरिएको छ । स्थानीय निकाय निर्वाचन तथा प्रदेशको निर्वाचनका सन्दर्भहरु उठिरहेको बेला काठमाडौंको उत्तरी भेकले एक बौद्धिक चरित्रको उदाउँदो नेताको रुपमा तेज रोक्कालाई पाउने  सक्ने ठूलो सम्भावना देखिन्छ ।

सामाजसेवी चरित्रबाट राजनीतिमा सक्रिय रहेका तेज रोक्कासँग कपन अनलाइनले गरेको भिडियो अन्तवार्ता:

 

तपाइँको प्रतिक्रिया ।